काठमाडौँ । भारतले बाढीपहिरो प्रभावित नेपालका लागि खोजी, उद्धार तथा राहत सामग्रीसहित थप सहायता पठाएको छ। भारतबाट ११ टन राहत सामग्री, प्राविधिक टोली र उद्धारका लागि आवश्यक उपकरणसहित चौथो खेप नेपाल आइपुगेको हो।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालका राहत तथा उद्धार प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने बताएका छन्।
भारतीय वायुसेनाको सी–१३० विमानमार्फत सुरुङ उद्धारका लागि आवश्यक उपकरणसहित प्राविधिक टोली नेपाल आएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ। त्यसैगरी, डीएनए विश्लेषणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञको टोली पनि नेपाल आइपुगेको छ।
भारतले ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइका सामग्री पनि पठाएको छ। बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात सञ्चालनमा सहयोग पुर्याउन संरचनागत सामग्रीसमेत पठाइएको छ।
जयशंकरका अनुसार २३० फिट लामो एक लेनको मोड्युलर स्टिल ब्रिज निर्माणका उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ प्रस्थान गरिसकेका छन्। थप ७ वटा बेली ब्रिजका उपकरण तथा ती जडान गर्ने प्राविधिक टोली पनि नेपाल आउने क्रममा छन्।
भारतका अनुसार विपद्पछि हालसम्म ६८.५ टन राहत सामग्री हवाई मार्गबाट काठमाडौं ल्याइसकिएको छ। यसअघि पठाइएका सामग्रीमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खानाका प्याकेट, पानी शुद्धीकरण गर्ने ट्याब्लेटलगायत प्राविधिक उपकरण थिए।