सुवा बाढीप्रति बेलायती राजा चार्ल्सको दुःख, भने– सहयोगका लागि तयार छौँ

1.1k Shares

काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति बेलायतका राजा चार्ल्स तृतीयले गहिरो दुःख व्यक्त गरेका छन्। राजा चार्ल्सले आफ्नी पत्नीसमेतको तर्फबाट बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्मा ज्यान गुमाएकाहरू तथा आफन्त र साथीभाइको खबरको प्रतीक्षामा रहेका परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।

सन्देशमा उनले नेपाल र बेलायतबीच लामो समयदेखि बलियो तथा व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै नेपालमा आएको विपद्को खबरले आफूहरू अत्यन्त दुःखी भएको बताएका छन्।

बाढी तथा त्यसपछिको उद्धार कार्यमा ज्यान गुमाएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका परिवारप्रति पनि राजा चार्ल्सले समवेदना व्यक्त गरेका छन्। उद्धार तथा राहतमा साहसपूर्वक र निस्वार्थ रूपमा खटिएका सुरक्षाकर्मी तथा अन्य व्यक्तिप्रति उनले सम्मान र धन्यवाद व्यक्त गरेका छन्।

‘प्रभावित सबैप्रति हाम्रो प्रार्थना छ,’ राजा चार्ल्सले आफ्नो सन्देशमा भनेका छन्। उनले विपद्बाट प्रभावित तथा आवश्यक परेका नेपालीलाई सहयोग गर्न बेलायत सदैव तयार रहेकोसमेत बताएका छन्।

रसुवा, नुवाकोटलगायत नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीमा परी ज्यान गुमाउने तथा बेपत्ता हुनेको संख्या बढिरहेको अवस्थामा खोजी, उद्धार, राहत तथा शव व्यवस्थापनको काम जारी छ।

यसअघि विभिन्न मुलुकले पनि नेपालमा आएको विपद्प्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बेलायती राजाको पछिल्लो सन्देशले विपद्को कठिन समयमा नेपालप्रति बेलायतको ऐक्यबद्धता र सहयोगको प्रतिबद्धता प्रकट गरेको छ।

सम्बन्धित समाचार