भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

1.5k Shares

काठमाडौं । भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ। प्राप्त सामग्री बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा प्रयोग गरिने जनाइएको छ।

भारतले उक्त राहत सामग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेललाई हस्तान्तरण गरेको हो। राहत सामग्रीमा विपद्का बेला आवश्यक पर्ने औषधि तथा अन्य अत्यावश्यक सामग्री समावेश रहेको जनाइएको छ।

india-help-nepal-after-flood.jpg

भारतले थप राहत सामग्री बिहीबार नेपाल आइपुग्ने जनाएको छ। विपद्को कठिन परिस्थितिमा नेपाल र नेपाली जनताको साथमा रहेको जनाउँदै भारतले सहयोगलाई मानवीय सहायता तथा छिमेकी प्राथमिकताअन्तर्गतको सहयोगका रूपमा प्रस्तुत गरेको छ।

रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न मुलुक तथा संस्थाबाट राहत र उद्धारका लागि सहयोग घोषणा भइरहेको छ। बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।

सम्बन्धित समाचार