जनकपुरधाम । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति मधेश प्रदेश सरकारले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बैठकले बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रदेशका नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा सञ्चार क्षेत्रलाई सहयोगका लागि सरकारले अपिल गरेको छ ।
विपद्को यस घडीमा प्रभावित नागरिकको राहत तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुर्याउन मधेश प्रदेशका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार सरकारले विपद्का बेला मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्याउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
सरकारले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएको छ ।