जापानीज इन्सेफ्लाइटिसले मधेशमा बढायो जोखिम, ६ जनाको मृत्यु

1.9k Shares

बर्दिबास । मधेश प्रदेशमा प्राणघातक रोग जापानीज इन्सेफ्लाइटिस (जेई) को संक्रमण फैलिँदै गएको छ। सर्लाहीबाहेक प्रदेशका सबै जिल्लामा संक्रमण देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भदौ ५ गतेसम्म मधेशका सात जिल्लाका १५ पालिकामा गरी १९ जनामा प्रयोगशाला परीक्षणबाट जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको छ। संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। यो मृत्युदर करिब ३२ प्रतिशत हो।

सबैभन्दा बढी प्रभावित सप्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये दुई जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका छन्। राजगढ, तिलाठी कोइलाडी, डाक्नेश्वरी र महदेवा क्षेत्रमा संक्रमण देखिएको छ।

त्यस्तै पर्सामा चार संक्रमितमध्ये दुई जना, धनुषामा तीन संक्रमितमध्ये एक जना तथा रौतहटमा एक जनाको मृत्यु भएको छ। महोत्तरीमा तीन तथा सिरहा र बारामा एक–एक जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य अधिकारीका अनुसार जापानीज इन्सेफ्लाइटिसबाट निको भएर घर फर्किएका केही बिरामीमा समेत बोल्न तथा खाना खान कठिन हुने, मानसिक अवस्था सुस्त हुनेलगायत दीर्घकालीन समस्या देखिएको छ।

खोप लगाउन र लामखुट्टेको टोकाइबाट बच्न आग्रह

स्वास्थ्य अधिकारीहरूले जापानीज इन्सेफ्लाइटिसको जोखिमबाट बच्न नियमित खोप लगाउन, घरवरपर पानी जम्न नदिन, राति सुत्दा झुल प्रयोग गर्न तथा शरीर पूरै ढाकिने कपडा लगाउन आग्रह गरेका छन्।

हाँस तथा सुँगुर–बङ्गुरका खोर बस्तीभन्दा टाढा राख्न पनि स्वास्थ्य टोलीले अनुरोध गरेको छ। उच्च ज्वरो, अत्यधिक टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने, शरीरमा ऐठन वा झट्का लाग्ने तथा मानसिक अवस्थामा परिवर्तन हुनेजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गरिएको छ।

संक्रमण बढेपछि प्रदेश स्वास्थ्य निर्देशनालयको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन, खोप सुपरभाइजरलगायतको टोली प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले स्थानीय तह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गर्दै संक्रमणको अवस्था र रोकथामका उपायबारे जानकारी लिइरहेको छ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि प्रदेशका आठवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई जापानीज इन्सेफ्लाइटिसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

यसैबीच, स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको साउन मसान्तसम्मको तथ्यांकअनुसार देशभर ५८ जनामा जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको छ। तीमध्ये १६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरूले संक्रमणको जोखिम कायमै रहेकाले खोप लगाउन, लामखुट्टेको टोकाइबाट जोगिन र शंकास्पद लक्षण देखिए तत्काल स्वास्थ्य संस्था पुग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार