काठमाडौं । अमेरिकाको गुप्तचर निकाय सीआईएका प्रमुख जोन र्याट्क्लिफ मंगलबार रुसको राजधानी मस्को पुगेका छन्। उनी पूर्वजानकारीबिना वार्ताका लागि मस्को पुगेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ।
तर र्याट्क्लिफको मस्को भ्रमणबारे अमेरिका र रुस दुवैले अहिलेसम्म औपचारिक पुष्टि गरेका छैनन्। उनले मस्कोमा रुसी पक्षका कुन अधिकारीसँग भेटवार्ता गर्नेछन् भन्ने पनि खुलाइएको छैन। अमेरिका र रुसका वरिष्ठ अधिकारीबीच प्रत्यक्ष भेटवार्ता निकै दुर्लभ मानिन्छ।
उडानसम्बन्धी विवरणअनुसार मंगलबार एउटा ठूलो अमेरिकी सैन्य विमान लात्भियाको बाटो हुँदै मस्को पुगेको थियो। विमान मस्कोको विमानस्थलमा अवतरण गरेपछि पुनः लात्भिया फर्किएको थियो।
बीबीसीले र्याट्क्लिफको भ्रमणबारे सीआईए, ह्वाइट हाउस र पेन्टागनसँग प्रतिक्रिया मागेको जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा उक्त विमान मस्कोको विमानस्थलनजिक देखिएको छ। त्यस्तै, अर्को भिडियोमा मस्कोमा कूटनीतिक सवारीसाधनको लस्कर देखिएको जनाइएको छ।
र्याट्क्लिफको भ्रमणअघि अमेरिकाले युक्रेनलाई एक वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डल मस्को जाने जानकारी गराएको थियो। एक वरिष्ठ युक्रेनी अधिकारीका अनुसार अमेरिकाले वार्ता सम्पन्न नभएसम्म रुसमाथि आक्रमण रोक्न युक्रेनलाई अनुरोधसमेत गरेको थियो।
र्याट्क्लिफको अचानक मस्को भ्रमणलाई अमेरिका–रुस सम्बन्ध तथा युक्रेन युद्धसँग जोडेर हेरिएको छ। यद्यपि, उनको भ्रमणको वास्तविक उद्देश्य र रुसी अधिकारीसँग हुने सम्भावित वार्ताका विषयबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन।