काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९ अंकमा झरेको हो।
यसअघि अघिल्लो कारोबार दिन नेप्से १०.६७ अंकले घटेको थियो। सोमबार बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिन ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ३ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ।
सोमबार कुल २७८ कम्पनीको कारोबार भएकामा ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको मूल्य भने स्थिर रह्यो।
बजारमा कारोबार भएका सबै समूहगत सूचक घटेका छन्। जलविद्युत् समूह सबैभन्दा बढी १.१९ प्रतिशतले घटेको छ। निर्जीवन बीमा समूहको सूचक पनि १.१२ प्रतिशतले घटेको छ।
त्यस्तै बैंकिङ समूह ०.६७, विकास बैंक ०.४७, फाइनान्स ०.८०, होटल तथा पर्यटन ०.०१, लगानी ०.४१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.५३, अन्य ०.७८ तथा व्यापार समूह ०.५० प्रतिशतले घटेका छन्।
समूहगत कारोबारमा जलविद्युत् समूह अगाडि रह्यो। यस समूहका कम्पनीमा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
वाणिज्य बैंकतर्फ ३० करोड तथा उत्पादन तथा प्रशोधन समूहमा ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। धौलागिरि लघुवित्तको ११.९८, सीवाईसी लघुवित्तको ९.१४, सयपत्री हाइड्रोपावरको ६.२७, हाथवे इन्भेस्टमेन्टको ३.३३ तथा खानीखोला हाइड्रोपावरको सेयर मूल्य ३.३३ प्रतिशतले बढेको छ।
यता पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ९.८३ प्रतिशतले घटेको छ। विन नेपाल लघुवित्त ८.६७ प्रतिशत तथा माउन्ट एभरेस्ट पावर ७.७६ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सेल डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर अगाडि रहेका छन्।