पशुपतिनाथमा अन्तिम सोमबार भक्तजनको घुइँचो, ३२५ जनाले गरे विशेष पूजा

1.1k Shares

काठमाडौँ। चन्द्रमासअनुसार श्रावण महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको उल्लेख्य भीड लागेको छ। आज ३२५ जना भक्तजनले पशुपति क्षेत्र विकास कोषले तोकेको दक्षिणाको रसिद काटेर विशेष पूजा गरेका छन्।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार बिहानैदेखि भक्तजनहरू पशुपतिनाथ मन्दिरमा पूजा, आराधना तथा दर्शनका लागि पुगेका थिए। विशेष पूजाका लागि गत सोमबार करिब ३०० भक्तजनले रसिद काटेका थिए।

चन्द्रमासअनुसार आज श्रावणको चौथो तथा अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको भीड अझै कायमै छ। भक्तजनहरू दर्शनका लागि लाममा बसेका छन्।

बोलबम यात्रीहरू भने बिहान २ बजेदेखि नै मन्दिरमा दर्शनका लागि लाइनमा बसेका थिए। पशुपतिनाथ मन्दिरका चारवटै ढोका भने आज बिहान ४ बजेबाट खोलिएको थियो।

यसअघि सौरमासअनुसारका श्रावणका चार सोमबारमा पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ बजेदेखि नै खोल्ने गरिएको थियो। तर चान्द्रमासअनुसार पर्ने आजको सोमबार मन्दिरको ढोका खोल्ने समयबारे निर्णय नभएकाले बिहान ४ बजेबाट मात्र ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिनुभयो।

सौरमासअनुसार श्रावणका सोमबारमा देखिएको जस्तै भक्तजनको उपस्थिति आज पनि पशुपति क्षेत्रमा रहेको कोषले जनाएको छ।

नेपालमा अधिकांश चाडपर्व चान्द्रमासअनुसार मनाइने भएकाले चान्द्रमासअनुसार परेको सोमबार पनि पशुपतिनाथमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको कोषले जनाएको छ।

सम्बन्धित समाचार