काठमाडौँ, भदौ ८ गते। लामो समयदेखि अन्योलमा रहेको १४औँ दक्षिण एसियाली खेलकुद (साग) को मिति टुंगो लागेको छ। पाकिस्तानमा हुने १४औँ साग आगामी चैत २० देखि २८ गतेसम्म आयोजना हुने भएको हो।
पाकिस्तानको इस्लामाबादमा आइतबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले सागको मिति र खेल सङ्ख्या निर्धारण गरेको हो। पाकिस्तानले तेस्रो पटक दक्षिण एसियाली खेलकुद आयोजना गर्न लागेको हो। यसअघि पाकिस्तानले सन् १९८९ र २००४ मा साग आयोजना गरेको थियो।
यसअघि सन् २०१९ डिसेम्बरमा नेपालका काठमाडौँ, पोखरा र जनकपुरमा १३औँ साग आयोजना भएको थियो। त्यसपछि दक्षिण एसियाको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन।
दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण भने सन् १९८४ मा नेपालमै आयोजना भएको थियो।
एसएओसीको बैठकमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठको सहभागिता थियो।
राखेप कार्यकारी समितिकी सदस्य श्रेष्ठका अनुसार आगामी सागमा २८ खेल समावेश गर्ने निर्णय भएको छ।
आगामी प्रतियोगितामा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल (३ एक्स ३ र ५ एक्स ५), बिलियर्ड एन्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, हक्की, जुडो, कबड्डी, कराँते, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु समावेश छन्।
ह्यान्डबल र भलिबलमा बिच विधासमेत समावेश गरिएको छ भने ह्यान्डबलमा बिचसहितका विधा खेलाइनेछ। बास्केटबलमा ३ एक्स ३ र ५ एक्स ५ दुवै विधा समावेश छन्।
यसपटकको सागको नारा ‘दक्षिण एसियामा एकता, खेलकुदमा शक्ति’ तय गरिएको छ।
प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाउनेछन्।
लामो समयपछि सागको मिति र खेल सङ्ख्या टुंगो लागेसँगै सहभागी राष्ट्रहरूले खेलाडी छनोट, प्रशिक्षण तथा तयारीलाई तीव्रता दिने अपेक्षा गरिएको छ।