सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्।
त्यसपछि बालिका नदेखिएपछि परिवारले खोजी थालेको थियो। खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा उनको शव फेला परेको हो। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार बालिकाको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए।
बालिका मृत फेला परेपछि घटनास्थलमा स्थानीयको बाक्लो भीड लागेको थियो। प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।