सिड्नी । बेलायतबाट अस्ट्रेलियातर्फ उडिरहेको यात्रुवाहक विमानमा एक महिला यात्रुले मदिराको नशामा अशोभनीय व्यवहार गरेपछि विमानमा असहज अवस्था सिर्जना भएको छ ।
घटना गत जुलाई २४ मा बेलायतको बर्मिंघमबाट अस्ट्रेलियाको मेलबर्नतर्फ उडेको विमानमा भएको बताइएको छ । ३० वर्षीया सराह पार्करले विमान उडेलगत्तै पाइलटको निर्देशन बेवास्ता गर्दै आफ्नो सिटबाट उठेकी थिइन् ।
शौचालय जाने क्रममा उनले विमानको गल्लीमा कपडा खोलेर अन्य यात्रुको उपस्थितिमै अशोभनीय गतिविधि गरेको अभियोगपत्रमा उल्लेख छ । विमानमा अत्यधिक मदिरा सेवन गरेको र चालक दलको निर्देशन पालना नगरेको आरोपसमेत उनीमाथि लागेको थियो ।
वेस्ट योर्कशायरको ह्यालिफ्याक्स निवासी पार्करले म्यानचेस्टर मजिस्ट्रेट अदालतमा उपस्थित भएर सार्वजनिक शिष्टाचारविरुद्धको कार्य गरेको आरोप स्वीकार गरेकी छन् ।
अदालतमा सुनुवाइका क्रममा जिल्ला न्यायाधीश साइमन ब्लेकब्रोले यात्रुले भरिएको विमानमा यस्तो व्यवहार गर्नु गम्भीर विषय भएको बताएका छन् । घटनापछि विमानभित्रको अनुशासन तथा यात्रुले मदिरा सेवन गरी अस्वाभाविक व्यवहार गर्दा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीबारे पनि प्रश्न उठेको छ।