जनकपुरका अतिक्रमित गुठी जग्गामा डोजर, पहिलो चरणमा ५० पोखरी खाली गराइँदै

1k Shares

जनकपुरधाम । जनकपुरमा अतिक्रमणमा परेका गुठीका जग्गा खाली गराउने अभियान सुरु भएको छ। पहिलो चरणमा अतिक्रमित पोखरीका डिल खाली गराउन डोजर चलाउन थालिएको हो।

जनकपुरधाम उपमहानगरपालिका–६ स्थित गिरनारी पोखरीको अतिक्रमित डिलबाट अभियान सुरु गरिएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार शुक्रबार नै जनकपुरका सात वटा पोखरीबाट अतिक्रमण हटाउने तयारी गरिएको छ।

अतिक्रमित क्षेत्र खाली गर्न गत साउन १ गते नै सूचना जारी गरिएको थियो। पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गरिने समितिले जनाएको छ।

अतिक्रमण हटाउने कार्यलाई चरणबद्ध रूपमा अघि बढाइएको छ। पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य गुठी जग्गामा भएको अतिक्रमण हटाउने कार्ययोजना बनाइएको छ।

अतिक्रमित गुठी जग्गा पहिचानका लागि २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाइएको समितिले जनाएको छ।

सम्बन्धित समाचार