वासिङ्टन । इरानसँगको द्वन्द्वका क्रममा मध्यपूर्वमा नौ महिनाभन्दा बढी समय तैनाथ रहेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन स्वदेश फर्कने यात्रामा निस्किएको छ । लामो समय समुद्रमा तैनाथ रहँदा युद्धपोतका चालक दलमा थकान तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढेको रिपोर्ट सार्वजनिक भइरहेका बेला लिङ्कनलाई फिर्ता बोलाइएको हो ।
सान डिएगोमा आधारित लिङ्कनलाई जापानमा तैनाथ युएसएस जर्ज वासिङ्टनले प्रतिस्थापन गरेको छ । यससँगै करिब पाँच हजार सदस्यीय चालक दलको असाधारण लामो तैनाती समाप्त भएको छ ।
लिङ्कनले गत २१ नोभेम्बर २०२५ मा सान डिएगोबाट आफ्नो यात्रा सुरु गरेको थियो । फेब्रुअरीमा इरानसँगको शत्रुता बढेपछि त्यसलाई मध्यपूर्वतर्फ मोडिएको थियो । लामो समयको तैनातीका क्रममा चालक दलमा थकान, मानसिक स्वास्थ्य र खानाको अभावबारे परिवारले चिन्ता व्यक्त गरेका थिए । युद्धपोत करिब २०० दिनसम्म कुनै बन्दरगाहमा नपुगी समुद्रमै रहेको विवरण सार्वजनिक भएपछि अमेरिकी सांसदहरूले समेत चालक दलको अवस्थाबारे प्रश्न उठाएका थिए ।
तर अमेरिकी रक्षा अधिकारीहरूले युद्धपोतको अवस्था अत्यधिक बिग्रिएको भन्ने विवरण अस्वीकार गरेका छन् । अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले त्यस्ता रिपोर्टलाई ‘पूर्ण रूपमा गलत प्रस्तुत गरिएको’ दाबी गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लिङ्कनको तैनाती अत्यधिक लामो भएको दाबी अस्वीकार गर्दै अर्को युद्धपोतले त्यसलाई प्रतिस्थापन गरिसकेको बताएका छन् ।
अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरले अगस्ट १६ मा युद्धपोतको निरीक्षण गर्दै चालक दलको लचिलोपनको प्रशंसा गरेका थिए । उनले लामो समय समुद्रमा तैनाथ रहनु चुनौतीपूर्ण हुने स्वीकार गरे पनि लिङ्कनमा अमेरिकी नौसेनाका ११ सक्रिय विमानवाहकमध्ये तुलनात्मक रूपमा कम मानसिक स्वास्थ्यसम्बन्धी घटना अभिलेख भएको बताएका थिए ।
नौसेनाका प्रतिनिधिले आत्महत्याको प्रयास वा आत्महत्यासम्बन्धी विचारमा कुनै अभिलेखित वृद्धि नभएको बताएका छन् । यद्यपि, अगस्ट ३ मा युद्धपोतबाट खसेर उद्धार गरिएका एक नाविकसम्बन्धी घटनाको अनुसन्धान भइरहेको छ ।
लिङ्कनको स्वदेश फिर्तीले लामो समयदेखि परिवारको प्रतीक्षामा रहेका आफन्तलाई राहत दिएको छ । युद्धपोतलाई सान डिएगोस्थित आफ्नो गृहबन्दरगाह पुग्न करिब तीन साता लाग्ने अपेक्षा गरिएको छ । -रासस/एएनआई