सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षण तथा कर निर्धारणसम्बन्धी काम फर्छ्यौट गरिदिने भन्दै पालले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीले पेस गरेका बिल–बिजक नमिलेको भन्दै करसम्बन्धी काम रोकिएको र त्यसपछि यादवमार्फत घुसको बार्गेनिङ गरिएको अनुसन्धानबाट खुलेको आयोगको आरोप छ।
पालले घुस रकम कार्यालयमै ल्याउन भनेपछि साउन ७ गते पाँच लाख रुपैयाँ बुझ्ने क्रममा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो।
अख्तियारले पालले आफ्नो पद तथा जिम्मेवारीको दुरुपयोग गरी गैरकानुनी रूपमा घुस मागेको र लिएको आरोप लगाएको छ। घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट यादवलाई पनि प्रतिवादी बनाइएको छ।
आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा दुवै प्रतिवादीलाई प्रचलित कानुनबमोजिम सजाय तथा बिगो असुलउपर गर्न मागदाबी गरेको जनाएको छ।