लाबुआन बाजो । इन्डोनेसियाको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि उद्धार टोलीले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजीलाई तीव्र बनाएका छन्। भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। हजारौँ मानिस विस्थापित भएका छन्।
राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार मङ्गराई क्षेत्रमा २४ र पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको छ। सिक्का, न्गाडा र एन्डे क्षेत्रमा पनि भूकम्पबाट मानवीय क्षति भएको जनाइएको छ।
फ्लोरेस टापुका विभिन्न क्षेत्रमा भूकम्पपछि गएको पहिरोमा मानिस पुरिएको आशङ्कामा उद्धारकर्मीले खोजी गरिरहेका छन्। पहुँच कठिन रहेका मङ्गराई, पूर्वी मङ्गराई र नागेकेओलगायत क्षेत्रमा आइतबारदेखि उद्धार तथा खोजी कार्य पुनः तीव्र पारिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ७.७ म्याग्निच्युडको भूकम्प पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट उत्तर–उत्तरपश्चिमतर्फ करिब ६८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको थियो। भूकम्पको केन्द्र समुद्र सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पको धक्का फ्लोरेस टापुको अधिकांश भागमा महसुस गरिएको थियो। छिमेकी पश्चिमी नुसा तेङ्गारा र दक्षिणी सुलावेसीका केही क्षेत्रमा पनि कम्पन पुगेको बताइएको छ।
विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पबाट ९०० भन्दा बढी घर पूर्णरूपमा ध्वस्त भएका छन् भने करिब ४५० घरमा क्षति पुगेको छ। करिब पाँच हजार मानिस अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन्।
परकम्पको जोखिमका कारण हजारौँ स्थानीय बासिन्दाले घरभित्र जान डराएर खुला आकाशमुनि रात बिताएका छन्। विद्यालय, स्वास्थ्य केन्द्र र चर्चसहित कम्तीमा १६७ सार्वजनिक संरचनामा क्षति पुगेको जनाइएको छ।
राहत तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा चामल, तयारी खाना, खानेपानी, कम्बल र औषधि वितरण सुरु गरेका छन्। विस्थापितका लागि आपत्कालीन आश्रयस्थल निर्माणको काम पनि अघि बढाइएको छ।
पहिरोका कारण फ्लोरेसका विभिन्न बस्ती जोड्ने करिब ७०० किलोमिटर लामो ट्रान्स–फ्लोरेस राजमार्गका केही खण्ड अवरुद्ध भएका छन्। विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा दुर्गम क्षेत्रमा उद्धार र राहत पुर्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
मौमेरेस्थित खोज तथा उद्धार कार्यालयका प्रमुख फतुर रहमानका अनुसार अधिकांश पहिरो हटाएर केही पृथक गाउँमा सडक सम्पर्क पुनःस्थापित गरिएको छ। यद्यपि, सञ्चार तथा विद्युत् सेवा अवरुद्ध भएकाले खोजी र उद्धार कार्य अझै चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो।
भूकम्पबाट कोमोडो राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा परिचित लाबुआन बाजो क्षेत्रसमेत प्रभावित भएको छ। स्थानीय बासिन्दाले क्षतिग्रस्त घरमा फर्किनुभन्दा सुरक्षित स्थानमा रात बिताइरहेका छन्।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने इन्डोनेसिया भूकम्प र ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको देश हो। १७ हजारभन्दा बढी टापु रहेको इन्डोनेसियामा सक्रिय ज्वालामुखी तथा विभिन्न फल्ट लाइनका कारण बारम्बार भूकम्प जाने गरेको छ।
यसअघि सन् १९९२ मा फ्लोरेस क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो। त्यस्तै, सन् २०१८ मा ७.५ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामी र भू–तरलीकरणका कारण पालु सहरमा ठूलो विनाश भएको थियो।
सन् २००४ मा सुमात्रा टापुनजिक गएको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको विनाशकारी सुनामीले हिन्द महासागर क्षेत्रका एक दर्जनभन्दा बढी देशमा करिब दुई लाख ३० हजार मानिसको ज्यान लिएको थियो।