बेइजिङ । चीनलाई विश्व अर्थतन्त्रसँग जोड्दै तीव्र आर्थिक विकासको आधार तयार पार्ने बजारमुखी सुधारका प्रमुख योजनाकार तथा पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षको उमेरमा निधन भएको छ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार रोगबाट पीडित झुको उपचारका क्रममा बुधबार बिहान बेइजिङमा निधन भएको हो। चीनका शीर्ष राजनीतिक निकायले संयुक्त रूपमा जारी गरेको शोक सन्देशमा उहाँलाई जनताको सेवामा जीवन समर्पित गर्ने तथा कम्युनिस्ट उद्देश्यमा महत्वपूर्ण योगदान पुर्याउने नेताका रूपमा स्मरण गरिएको छ।
झु सन् १९९८ मा चीनको प्रधानमन्त्री बन्नुभएको थियो। प्रधानमन्त्रीका रूपमा उहाँ कडा निर्णय लिन सक्ने र बजारमुखी आर्थिक सुधारप्रति दृढ नेताका रूपमा परिचित हुनुभयो। उहाँको कार्यकालमा चीन राज्यनियन्त्रित अर्थव्यवस्थाबाट बजारमुखी प्रणालीतर्फ तीव्र रूपमा अघि बढ्यो।
उहाँको नेतृत्वमा लामो समयदेखि घाटामा रहेका राज्य स्वामित्वका उद्योगमा व्यापक सुधार, सहरी आवास प्रणालीमा परिवर्तन तथा घरको स्वामित्वलाई प्रोत्साहन गर्ने नीति अघि बढाइयो। यी सुधारले चीनमा निजी क्षेत्र र उपभोक्तामुखी अर्थतन्त्रको विस्तारमा महत्वपूर्ण भूमिका खेले।
झुको आर्थिक नीतिले रियल स्टेट तथा निर्माण क्षेत्रमा तीव्र विस्तारको आधार पनि तयार गर्यो। तर पछिल्ला वर्षमा यही क्षेत्र चीनको अर्थतन्त्रका लागि प्रमुख चुनौती बनेको छ।
सन् १९९७ को एसियाली वित्तीय सङ्कटका बेला चीनको मुद्रा र अर्थतन्त्रलाई तुलनात्मक रूपमा स्थिर राख्न उहाँले महत्वपूर्ण भूमिका खेलेको श्रेय दिइन्छ। त्यस्तै, चीनलाई विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को सदस्य बनाउने वार्तामा पनि उहाँको महत्वपूर्ण योगदान थियो। सन् २००१ मा चीन डब्लुटिओमा प्रवेश गरेपछि विश्व बजारसँग उसको आर्थिक एकीकरण अझ तीव्र भयो।
झुका सुधारले ठूलो संख्यामा चिनियाँ नागरिकलाई गरिबीबाट माथि उठाउन योगदान पुर्याए पनि आय तथा सम्पत्तिको असमानता बढाएको आलोचना पनि भयो। सन् २०१२ मा सी जिनपिङ नेतृत्वमा आएपछि चीनले अर्थतन्त्रमा राज्यको भूमिकालाई पुनः बलियो बनाउँदै थप सन्तुलित विकासमा जोड दिन थाल्यो।
झुको निधनपछि जारी शोक सन्देशमा उहाँलाई चिनियाँ कम्युनिस्ट पार्टीका उत्कृष्ट सदस्य, लामो समयदेखि परीक्षित तथा वफादार कम्युनिस्ट योद्धा र पार्टी तथा राज्यका उत्कृष्ट नेतामध्ये एकका रूपमा वर्णन गरिएको छ।
उहाँको निधनको खबर सार्वजनिक भएपछि चिनियाँ सामाजिक सञ्जाल वेइबोमा झुको नाम शीर्ष प्रवृत्तिमध्ये परेको थियो। केही घण्टामै उहाँसम्बन्धी सामग्री करोडौँ पटक हेरिएको थियो। धेरै प्रयोगकर्ताले उहाँलाई चीनको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने प्रधानमन्त्रीका रूपमा सम्झँदै श्रद्धाञ्जलि दिएका छन्।
झु रोङ्जीको राजनीतिक विरासत चीनको तीव्र आर्थिक रूपान्तरणसँग गहिरोसँग जोडिएको छ। उहाँका कतिपय नीतिले पछिल्ला वर्षमा नयाँ चुनौतीसमेत जन्माए पनि चीनलाई विश्व बजारसँग जोड्ने प्रक्रियामा उहाँको भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण मानिन्छ।
-रासस/एएफपी