काठमाडौं । यमनको बाब अल–मन्देब जलडमरूमध्यमा हुथी समूहले गरेको आक्रमणमा मालवाहक पानीजहाजका चार जना चालक दल सदस्यको मृत्यु भएको छ। मृतकमध्ये एक जना इन्डोनेसियाली नागरिक रहेको पुष्टि भएको छ। घटनामा तीन जना पाकिस्तानी नागरिकसमेत मारिएका छन्।
मंगलबार भएको आक्रमणमा इजिप्टको स्वामित्वमा रहेको ‘तिहामाह’ नामक मालवाहक पानीजहाजलाई लक्षित गरिएको बताइएको छ। यमनका तटरक्षक अधिकारी तथा सरकारी सैन्य अधिकारीहरूले आक्रमण हुथी समूहले गरेको बताएका छन्।
ब्रिटिस नौसैनिक निकायसँग सम्बन्धित युके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले यमनको अल–मोखा क्षेत्रनजिकै एउटा मालवाहक पानीजहाजमा अज्ञात प्रक्षेप्यास्त्र प्रहार भएको जानकारी प्राप्त भएको जनाएको थियो। त्यसपछि समुद्री सुरक्षा कम्पनी एम्ब्रेले उक्त पानीजहाजलाई ‘तिहामाह’ भएको पहिचान गर्दै आक्रमणमा क्षति पुगेको जनाएको थियो।
आक्रमणपछि पानीजहाजले नियन्त्रण गुमाएको बताइएको छ। उद्धारका लागि पुगेका यमनी सुरक्षाकर्मीमाथि समेत अर्को आक्रमण भएको र त्यस क्रममा दुई जना यमनी उद्धारकर्मीको मृत्यु भएको जनाइएको छ। घटनामा कम्तीमा १० जना घाइते भएका छन्।
हुथी समूहले भने उक्त पानीजहाजमा साउदी अरबका लागि सैन्य सामग्री रहेको दाबी गर्दै आक्रमण गरेको जनाएको छ। तर पानीजहाजमा वास्तवमै साउदी सैन्य सामग्री रहेको दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। उपलब्ध विवरणअनुसार ‘तिहामाह’ साउदी स्वामित्व वा सञ्चालनमा रहेको पानीजहाज भने होइन।
समुद्री यातायातका लागि अत्यन्त महत्वपूर्ण बाब अल–मन्देब जलडमरूमध्यमा पछिल्लो घटनाले सुरक्षा चुनौती थप बढाएको छ। लाल सागर र बाब अल–मन्देब हुँदै हुने व्यापारिक पानीजहाजको आवागमन यसअघि नै हुथी आक्रमणका कारण उल्लेख्य रूपमा घटेको छ। पछिल्लो समय उक्त जलमार्गबाट दैनिक औसत ३२ वटा पानीजहाज मात्र आवतजावत गरिरहेका छन्, जबकि नाकाबन्दीअघि यस्तो संख्या करिब ५० थियो।
बाब अल–मन्देब जलडमरूमध्य लाल सागरलाई अदनको खाडीसँग जोड्ने महत्वपूर्ण सामुद्रिक मार्ग हो। विश्व व्यापारका लागि महत्वपूर्ण मानिने यस क्षेत्रमा लगातार बढिरहेको सुरक्षा जोखिमले अन्तर्राष्ट्रिय जल यातायात तथा आपूर्ति शृंखलामा थप दबाब सिर्जना गर्ने चिन्ता बढेको छ।