सुर्खेतमा २७ दिनमै ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

1.3k Shares

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा साउन महिनाको २७ दिनमै खाना पकाउने एलपी ग्यासका ४४ हजार ५०० सिलिन्डर बिक्री तथा वितरण भएका छन्।

नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालयका अनुसार साउन १ देखि २७ गतेसम्म सुर्खेतका विभिन्न ग्यास डिलर तथा कम्पनीमार्फत १४ दशमलव २ केजीका सिलिन्डर वितरण गरिएको हो।

निगमका प्रादेशिक प्रमुख दीपक घिमिरेका अनुसार सबैभन्दा धेरै भेरी ग्यासका २७ हजार ६२६ सिलिन्डर वितरण भएका छन्। त्यसैगरी नेपाल ग्यास कर्णालीका पाँच हजार ७८, सैपालका चार हजार ४६५, राप्तीका दुई हजार ८००, रेडियन्सका दुई हजार ७३० र मनकामना ग्यास कम्पनीका एक हजार ८०२ सिलिन्डर बिक्री तथा वितरण भएका छन्।

प्रमुख घिमिरेका अनुसार साउन मसान्तसम्म सुर्खेतमा थप पाँच हजार सिलिन्डर आवश्यक पर्ने अनुमान गरिएको छ। यससँगै चालु महिनामा करिब ५० हजार सिलिन्डर खपत हुने देखिएको छ। उहाँले यो सुर्खेतमा अहिलेसम्मकै उच्च ग्यास खपत भएको बताउनुभयो।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सुर्खेतमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले ग्यास वितरणमा समस्यामा परेका तथा प्राथमिकतामा राख्नुपर्ने उपभोक्ताका लागि विशेष व्यवस्था गरेको छ।

बैठकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घरोगी तथा समस्यामा परेका व्यक्तिका लागि प्रत्येक ग्यास डिलरबाट १० प्रतिशत सिलिन्डर छुट्याएर उपलब्ध गराउने निर्णय गरेको निगम कार्यालय सुर्खेतले जनाएको छ।

पछिल्लो समय सुर्खेतमा एलपी ग्यासको माग उच्च भएपछि आपूर्ति व्यवस्थापन र वितरण प्रणालीलाई व्यवस्थित बनाउन स्थानीय प्रशासन, नेपाल आयल निगम तथा ग्यास व्यवसायीबीच समन्वय भइरहेको छ।

सम्बन्धित समाचार