काठमाडौं । गायिका संगीता भण्डारी २२ वर्षपछि नयाँ तीज गीत ‘रानीहार’मार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन्। डीपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको गीत शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
‘रानीहार’मा तीज मनाउन महँगा सुनका गहना तथा भड्किलो खर्च आवश्यक नपर्ने सन्देश दिइएको छ। आफूसँग उपलब्ध सामान्य सामग्रीमै खुसी र उत्साहका साथ तीज मनाउन सकिने भाव गीतले प्रस्तुत गरेको छ।
गीतमा संगीताको स्वर तथा विषम आचार्यको संगीत संयोजन रहेको छ। भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र स्वयं संगीता भण्डारीको अभिनय तथा नृत्य देख्न सकिन्छ। भिडियोको निर्देशन तथा नृत्य निर्देशन केशवराज भट्टले गरेका हुन्।
२२ वर्षपछि गायनमा फर्किनुको कारणबारे संगीता भण्डारीले उमेर प्रतिभा प्रस्तुत गर्ने बाधक नभएको बताएकी छन्। इच्छा, आत्मविश्वास र निरन्तर प्रयास भए जुनसुकै उमेरमा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सकिने सन्देश दिन आफू पुनः गायनमा फर्किएको उनको भनाइ छ।
‘रानीहार’ले तीजको मौलिक संस्कृति, सरल जीवनशैली र खुसीलाई केन्द्रमा राखेको छ।