इरानसँगको द्वन्द्वमा क्षतिपूर्ति माग्दै ट्रम्प, युद्ध थप नबढाउन सल्लाहकारको सुझाव

17.5k Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पाँच महिना लामो द्वन्द्वका क्रममा भएको क्षति र मानवीय हानिको क्षतिपूर्ति इरानले नै गर्नुपर्ने बताएका छन्।

इरानले युद्धका कारण भएको क्षतिको भरपाई अमेरिकाले गर्नुपर्ने सर्त अघि सारेको केही दिनपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। यसअघि तेहरानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला गर्न वासिङ्टनसमक्ष क्षतिपूर्तिको माग राखेको थियो।

ट्रम्पले भने इरान समर्थित गतिविधि तथा आक्रमणबाट क्षति भोगेका पीडितका लागि इरानले क्षतिपूर्ति तिर्नुपर्ने अडान दोहोर्‍याएका छन्। उनले द्वन्द्वका क्रममा अमेरिकी नागरिक तथा संरचनामा पुगेको क्षतिको जिम्मेवारीसमेत इरानले लिनुपर्ने संकेत गरेका छन्।

यसैबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेता मोज्तबा खामेनेईसँग हालै भएको सात घण्टा लामो भेटले राष्ट्रिय एकताको सन्देश दिएको बताएका छन्। लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका खामेनेईको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला पेजेस्कियानले उनी पूर्ण रूपमा स्वस्थ रहेको दाबी गरेका हुन्।

उता आगामी नोभेम्बरमा हुने अमेरिकी निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति ट्रम्पका सल्लाहकारहरूले इरानसम्बन्धी रणनीतिमा संयम अपनाउन र द्वन्द्वलाई थप विस्तार हुन नदिन सुझाव दिएका छन्।

इरान गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको र त्यसले तेहरानभित्र कट्टरपन्थी तथा मध्यमार्गी समूहबीचको विभाजन बढाउन सक्ने ह्वाइट हाउसको आकलन छ। तर सार्वजनिक रूपमा ट्रम्पले इरानसम्बन्धी आफ्नो नीतिप्रति सन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनले आफूले इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्न सफल भएको दाबी गरेका छन्।

यद्यपि, आलोचकहरूले लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने स्पष्ट रणनीति र मार्गचित्र नहुँदा यसको राजनीतिक असर आगामी निर्वाचनमा रिपब्लिकन पार्टीमाथि पर्न सक्ने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार