टर्कीले भन्यो– मक्का रक्षा सम्झौता इरानविरुद्ध लक्षित छैन

1.3k Shares

काठमाडौँ । टर्कीले साउदी अरेबिया र पाकिस्तानसँग गरेको नयाँ त्रिपक्षीय रक्षा सम्झौता इरान वा अन्य कुनै मुलुकविरुद्ध लक्षित नरहेको स्पष्ट पारेको छ। टर्कीका परराष्ट्रमन्त्री हकान फिदानले सम्झौतामा कुनै देशलाई साझा शत्रु वा खतराका रूपमा उल्लेख नगरिएको बताएका छन्।

मक्का संयुक्त रक्षा सम्झौतामा शुक्रबार टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोआन, साउदी युवराज मोहम्मद बिन सलमान र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबैमाथिको आक्रमणका रूपमा लिइनेछ।

फिदानका अनुसार सम्झौतामा कुनै ‘साझा खतरा’ तोकिएको छैन। आक्रमणमा परेको सदस्य राष्ट्रले सहयोग मागेपछि परिस्थितिअनुसार गुप्तचर सूचना, रसद, गोलाबारुददेखि सैनिक परिचालनसम्म सहयोग उपलब्ध गराउन सकिने व्यवस्था छ।

उनले यो व्यवस्थालाई प्राविधिक रूपमा नेटोको सामूहिक रक्षा अवधारणासँग मिल्दोजुल्दो बताए। सम्झौताअन्तर्गत तीन देशका परराष्ट्र तथा रक्षामन्त्री र सैनिक प्रमुख सम्मिलित राजनीतिक तथा सैन्य संयन्त्र गठन गरिनेछ भने साउदी अरेबियामा स्थायी सचिवालय रहनेछ। तीन देशले संयुक्त सैन्य तालिम, गुप्तचर सूचना आदानप्रदान, रसद, खतरा मूल्यांकन र सैनिक अन्तरसञ्चालनमा समेत सहकार्य गर्नेछन्।

इजिप्ट पनि सहभागी हुन सक्ने

टर्कीका परराष्ट्रमन्त्री फिदानले रक्षा सहकार्यलाई तीन देशमा मात्र सीमित नराख्ने संकेत गरेका छन्। उनका अनुसार अन्य केही देशले पनि सम्झौतामा सहभागी हुन रुचि देखाएका छन्।

फिदानले इजिप्टलाई ‘स्वाभाविक साझेदार’ भन्दै प्राविधिक विषयहरू टुंगिएपछि इजिप्ट पनि सम्झौतामा सहभागी हुन सक्ने बताएका छन्।

इरानको असन्तुष्टि

टर्कीले सम्झौता इरानविरुद्ध नभएको स्पष्टीकरण दिए पनि केही इरानी अधिकारीहरूले भने सम्झौताप्रति प्रश्न उठाएका छन्। इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति आयोगका सदस्य महमूद नबाभियानले साउदी अरेबियालाई नयाँ साझेदारमा भर पर्दैमा सुरक्षा सुनिश्चित नहुने चेतावनी दिएका छन्।

आयोगका अर्का सदस्य इब्राहिम रेजाईले सम्झौतालाई ‘कागजी सम्झौता’ भन्दै खारेज गरेका छन्। इरानी परराष्ट्रमन्त्री अब्बास अराघचीले सम्झौताको प्रत्यक्ष उल्लेख नगरे पनि क्षेत्रीय राष्ट्रहरूलाई आत्मनिर्भरता र ‘साँचो भ्रातृत्व’ अपनाउन आह्वान गरेका छन्।

क्षेत्रीय तनाव बढिरहेका बेला भएको यो सम्झौताले साउदी अरेबिया, टर्की र पाकिस्तानबीचको सुरक्षा सहकार्यलाई नयाँ तहमा पुर्‍याएको छ। यद्यपि टर्की र पाकिस्तानले सम्झौता कुनै निश्चित देशलाई लक्षित नभएको बताइरहेका छन्।

सम्बन्धित समाचार