जेनेभा । नर्वेमा कार्यरत नेपाली चिकित्सक तथा मानसिक स्वास्थ्य अनुसन्धानकर्ता प्रा.डा. सुरजबहादुर थापालाई ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ सम्मान प्रदान गरिएको छ।
स्विट्जरल्यान्डको जेनेभामा आयोजित ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’को दोस्रो स्वास्थ्य सम्मेलनका क्रममा उनलाई सम्मान गरिएको हो। सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठ, स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी तथा नेप्लिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. आरती थापाले संयुक्त रूपमा उनलाई ताम्रपत्र र दोसल्लासहित सम्मान गरेका थिए।
युरोपमा नेपालीको प्रतिनिधित्व गर्दै स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, शैक्षिक तथा व्यावसायिक उपलब्धि र मानसिक स्वास्थ्य तथा मनोचिकित्साको क्षेत्रमा गरेको अनुसन्धानलाई मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको सोसाइटीले जनाएको छ। यो सम्मान पाउने प्रा.डा. थापा दोस्रो नेपाली स्वास्थ्यकर्मी हुन्। गत वर्ष पहिलोपटक प्रा.डा. गणेश आचार्यलाई उक्त सम्मान प्रदान गरिएको थियो।
प्रा.डा. थापाको चिकित्सकीय यात्रा बाल्यकालको पीडादायी घटनाबाट सुरु भएको थियो। काठमाडौंको धापासीमा हुर्किएका उनले दुई वर्षीया बहिनीलाई समयमै उपचार नपाउँदा गुमाएपछि चिकित्सक बन्ने संकल्प गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस पूरा गरेपछि मानसिक स्वास्थ्यको क्षेत्रमा आफ्नो रुचि बढाउँदै लगे।
सन् १९९९ मा उच्च शिक्षाका लागि नर्वे पुगेका थापाले सन् २००६ मा त्यहीँबाट चिकित्सा शास्त्रमा विद्यावारिधि पूरा गरे। हाल उनी नर्वेको ओस्लो युनिभर्सिटी हस्पिटलमा प्रोफेसर तथा सन् २०२० देखि मानसिक स्वास्थ्य विभागमा अनुसन्धान प्रमुखका रूपमा कार्यरत छन्। उनका मानसिक स्वास्थ्य, मनोचिकित्सा, युद्ध, बसाइँसराइ, शरणार्थी जीवन र मानसिक आघातसँग सम्बन्धित ५० भन्दा बढी अनुसन्धान अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित छन्।
थापाले नेपाली चिकित्सक तथा अनुसन्धानकर्तालाई नर्वेमा पीएचडी तथा अनुसन्धानका अवसर दिलाउन पनि भूमिका खेल्दै आएका छन्। साथै नेपाल–नर्वेबीच मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धान तथा शैक्षिक सहकार्य विस्तारमा समेत उनी सक्रिय छन्।
सम्मान ग्रहणपछि थापाले आफूले नर्वेमा हासिल गरेको ज्ञान, अनुभव र विशेषज्ञतालाई नेपालको मानसिक स्वास्थ्य क्षेत्रको सुधारमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी ग्रामीण क्षेत्रका नागरिकसम्म स्वास्थ्य सेवा सहज रूपमा पुर्याउने, मानसिक स्वास्थ्यमा अनुसन्धान, अध्यापन र सेवा विस्तार गर्ने आफ्नो इच्छा रहेको उनले बताएका छन्।
उनले नेपालको स्वास्थ्य प्रणालीले नर्वेको स्वास्थ्य प्रणालीबाट सिक्न सक्ने बताउँदै स्वास्थ्य र शिक्षा नागरिकको अधिकार भएकाले सबै नागरिकको पहुँचमा सेवा पुर्याउन आवश्यक रहेको धारणा राखेका छन्। अवकाशको चरणमा नेपाल फर्किएर आफ्नो अनुभव नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने योजना पनि उनले सुनाएका छन्।