जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा शान्ति योजनाको १५ बुँदे प्रस्ताव अस्वीकार गरेका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारे। उनले इजरायली सेना र नागरिकमाथिको खतरा अन्त्य गर्न सैन्य कारबाही जारी रहने बताएका छन्।
ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमाससहित अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सहमति जुटेको दाबी गरेको थियो। तर हमासले भने इजरायलले गाजामाथिका आक्रमण रोक्दै सेना फिर्ता गरेपछि मात्रै भारी हतियार बुझाउन सकिने अडान राख्दै आएको छ।
हमासका एक अधिकारीले आफूहरू १५ बुँदे योजना कार्यान्वयनका लागि गम्भीरतापूर्वक अघि बढ्न तयार रहेको बताएका छन्। उनले मध्यस्थकर्तालाई सहमति कार्यान्वयन गराउन आग्रहसमेत गरेका छन्।
गत सेप्टेम्बरमा सार्वजनिक गरिएको ट्रम्पको योजनामा ‘बोर्ड अफ पिस’ गठन, हमासको निशस्त्रीकरण, इजरायली सेनाको फिर्ती र गाजाको पुनर्निर्माण लगायतका विषय समेटिएका थिए। नेतन्याहूको पछिल्लो अडानले गाजा शान्ति प्रयास थप जटिल बनेको छ।