सर्लाही । नेपालमा रासायनिक मलको अभाव भएपछि भारतीय बजारबाट युरिया मल ल्याउन गएका सर्लाहीका दुई किसान ३८ दिन भारतीय प्रहरीको हिरासतमा बसेर घर फर्किएका छन् ।
बलरा नगरपालिका–५ अर्नाहाका ६४ वर्षीय नागेन्द्रप्रसाद सिंह र उनका भाइ ६२ वर्षीय सुरेशप्रसाद सिंह सीतामढी व्यवहार अदालतको आदेशअनुसार जनही १० हजार भारतीय रुपैयाँ धरौटी बुझाएर शुक्रबार साँझ नेपाल फर्किएका हुन् ।
उनीहरू गत असार १७ गते भारतको सोनवर्षाबाट साइकलमा एक–एक बोरा युरिया मल लिएर नेपाल फर्किने क्रममा भारतीय सीमासुरक्षा बल (एसएसबी) का घुमुवा टोलीबाट पक्राउ परेका थिए । उनीहरूलाई डुमरा थानामा बुझाइएको थियो ।
सुरेशप्रसादका अनुसार आफूहरू धान खेतीका लागि एक–एक बोरा मल लिन भारत गएको बताए पनि एसएसबीले तस्करीको आरोप लगाएर पक्राउ गरेको थियो । उनका अनुसार दुई बोरा युरिया मल मात्र ल्याएको अवस्थामा मुद्दा चलाउने क्रममा थप छ बोरा डिएपी मलसमेत बरामद भएको देखाइएको थियो ।
“रोपाइँ गर्न यहाँ मल नपाएपछि दाजुभाइ मिलेर सोनवर्षा गएका थियौँ । मल लिएर फर्कंदै गर्दा एक्कासि एसएसबीको घुमुवाले पक्राउ गरेर डुमरा थानाको जिम्मा लगाइदिए,” सुरेशप्रसादले भने ।
अदालतको आदेशपछि धरौटीमा रिहा भए पनि उनीहरूलाई प्रत्येक महिना अदालतमा तारिख बुझ्न आउन भनिएको सुरेशप्रसादले बताए ।
नेपालमा अनुदानको रासायनिक मल पर्याप्त उपलब्ध हुन नसक्दा सीमावर्ती क्षेत्रका किसान भारतीय बजारमा निर्भर हुन बाध्य भएको स्थानीयको भनाइ छ ।
जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहका अनुसार मल अभावका कारण सीमावर्ती क्षेत्रका धेरै किसान लुकीछिपी भारतीय बजार पुग्ने गरेका छन् । सीमामा सुरक्षा कडाइ बढाइएकाले मल ल्याउने क्रममा पक्राउ पर्न सकिने त्रास किसानमा बढेको उनले बताए ।
सिंह दाजुभाइ पक्राउ परेको घटनापछि सीमावर्ती क्षेत्रका किसान थप त्रसित बनेका छन् । किसानले सहज रूपमा मल पाउने व्यवस्था गर्न नसकिए यस्ता समस्या दोहोरिन सक्ने स्थानीयको भनाइ छ ।