होर्मुज स्ट्रेटमा यूएईको तेल ट्यांकरमाथि इरानले क्षेप्यास्त्र हानेको दाबी

15.3k Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले होर्मुज स्ट्रेट हुँदै गइरहेको आफ्नो एक तेल ट्यांकरलाई इरानले क्षेप्यास्त्र प्रहार गरी निसाना बनाएको दाबी गरेको छ ।

बीबीसी फारसीका अनुसार यूएईको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अबुधाबी नेसनल आयल कम्पनी (एडीएनओसी) को तेल ट्यांकरमाथि भएको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको हो ।

मन्त्रालयका अनुसार होर्मुज स्ट्रेट हुँदै गइरहेको ट्यांकरमाथि भएको आक्रमणमा कुनै पनि व्यक्ति मारिएको वा घाइते भएको जानकारी प्राप्त भएको छैन ।

एडीएनओसीले शुक्रबार युद्ध सुरु भएयता होर्मुज स्ट्रेट हुँदै यात्रा गर्ने क्रममा आफ्ना १५ वटा जहाजले क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरेको जनाएको छ ।

कम्पनीका अनुसार तीमध्ये तीन वटा आक्रमण पछिल्लो एक सातामै भएका छन् । पछिल्लो घटनाले विश्वकै महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेटमा सुरक्षा जोखिम थप बढेको संकेत गरेको छ ।

होर्मुज स्ट्रेटबाट विश्व बजारमा ठूलो परिमाणमा कच्चा तेल तथा पेट्रोलियम पदार्थ आपूर्ति हुने भएकाले त्यहाँ हुने सैन्य गतिविधिले अन्तर्राष्ट्रिय ऊर्जा बजार र तेलको मूल्यमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढेको छ ।

सम्बन्धित समाचार