काठमाडौं । जंगलमा सिकार खेल्न गएका सल्यानका एक वृद्धको भरुवा बन्दुकबाट चलेको गोली लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा सिकार खेल्ने क्रममा गोली लागेर कालिमाटी गाउँपालिका–२ बराहढुँगा निवासी करिब ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो।
प्रहरीका अनुसार शुक्रबार साथीहरूसँग सिकार खेल्न गएका बेला भरुवा बन्दुकबाट अचानक गोली चलेको थियो। गोली लागेर पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा चोट लागेको थियो। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार प्रहरीले घटनास्थलको मुचुल्कालगायत प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी घटनाको अनुसन्धान अघि बढाएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सिकार खेल्न गएका छ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका मानबहादुर विक, जुद्रबहादुर रेउले, खुमेन्द्रबहादुर रेउले, सेईतराम थापा र कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहढुँगाका पदमबहादुर श्रीसमगर रहेका छन्।
प्रहरीले पक्राउ परेकाहरूलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। गोली कसरी चलेको हो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।