काठमाडौं । फुटबलमा विश्वकप केवल राष्ट्रबीचको प्रतिष्ठित उपाधिका लागि हुने प्रतियोगिता मात्र होइन, खेलाडीका लागि आफ्नो प्रतिभा विश्वसामु देखाउने सबैभन्दा ठूलो मञ्च पनि हो ।
विश्वकपअघि आफ्नै देशबाहिर खासै चर्चामा नरहेका खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि विश्वका ठूला क्लबको नजरमा पर्ने गरेका छन् ।
कहिलेकाहीँ एउटा उत्कृष्ट खेल, निर्णायक गोल वा असाधारण बचाउले खेलाडीको बजार मूल्यदेखि क्लब करिअरसम्म बदलिदिन्छ । विश्वकपमा चम्किएपछि विश्व फुटबलका ठूला क्लबमा पुगेका खेलाडीको सूची लामो छ ।
यसको पछिल्लो उदाहरण केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हा हुन् । पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेसबाट खेलिरहेका भोजिन्हा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि चिलीको प्रतिष्ठित क्लब कोलो–कोलो पुगेका छन् ।
भोजिन्हाको कथा अन्य खेलाडीभन्दा फरक छ । ४० वर्षको उमेरमा उनले पोर्चुगलको दोस्रो डिभिजनबाट चिलीको चर्चित क्लबमा स्थानान्तरणको अवसर पाए ।
विश्वकपमा स्पेनसँग बराबरी खेल्दै केप भर्डेलाई विश्वकप इतिहासमै पहिलो अंक दिलाउन उनले महत्वपूर्ण भूमिका खेले । त्यसपछि टोलीलाई नकआउट चरणसम्म पुर्याउन उनको प्रदर्शन निर्णायक बन्यो ।
विश्वकपका क्रममा उनको सामाजिक सञ्जाल लोकप्रियता पनि असाधारण रूपमा बढ्यो । उनको प्रदर्शनका कारण उनी प्रतियोगिताको ‘टोली अफ द टुर्नामेन्ट’ मा समेत परे ।
उनको लोकप्रियता यति बढ्यो कि वैज्ञानिकहरूले पत्ता लगाएको समुद्री स्लगको नयाँ प्रजातिलाई समेत उनको नामसँग जोडिएको छ । अब उनी चिलीको सफल क्लबमध्ये एक कोलो–कोलोमा पुगेका छन् । क्लबले ३४ भन्दा बढी घरेलु लिग तथा १४ पटक कोपा चिले जितिसकेको छ ।
सन् १९९४ को विश्वकपअघि क्यामरुनका मार्क भिभियन फो विश्व फुटबलमा ठूलो नाम थिएनन् । तर अमेरिकामा भएको विश्वकपमा उनको प्रभावशाली प्रदर्शनले युरोपेली क्लबको ध्यान तान्यो ।
विशेषगरी ब्राजिलविरुद्धको प्रदर्शनपछि फ्रान्सेली क्लब लेन्सले उनलाई अनुबन्ध गर्यो । लेन्समा उनले चार वर्ष बिताए र सन् १९९७–९८ सिजनमा क्लबलाई ऐतिहासिक लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले ।
त्यसपछि उनले वेस्ट ह्याम युनाइटेड, म्यानचेस्टर सिटी र लियोनजस्ता क्लबबाट खेले ।
तर उनको जीवनको अन्त्य भने अत्यन्तै दुःखद भयो । सन् २००३ मा कन्फेडेरेसन कपको सेमिफाइनल खेलका क्रममा मैदानमै ढलेपछि उनको निधन भयो । त्यतिबेला उनी केवल २८ वर्षका थिए ।
सन् २००२ को विश्वकप ब्राजिलका गिल्बर्टो सिल्भाका लागि करिअर परिवर्तन गर्ने प्रतियोगिता बन्यो ।
२५ वर्षीय सिल्भा त्यतिबेला एट्लेटिको मिनेइरोबाट खेलिरहेका थिए । ब्राजिलका नियमित कप्तान इमर्सन चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि सिल्भाले पहिलो रोजाइमा खेल्ने अवसर पाए ।
उनले अवसरलाई प्रभावकारी रूपमा सदुपयोग गरे । ब्राजिलले खेलेका प्रत्येक खेलमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै उनी विश्वकप विजेता बने ।
उनको प्रदर्शनबाट प्रभावित तत्कालीन प्रिमियर लिग च्याम्पियन आर्सनलले उनलाई करिब ४.५ मिलियन पाउन्डमा अनुबन्ध गर्यो ।
आर्सनलमा उनले ६ वर्ष बिताए । यस अवधिमा दुई पटक एफए कप जित्नुका साथै सन् २००३–०४ को सिजनमा एक खेल पनि नहारी प्रिमियर लिग जितेको चर्चित ‘इनभिन्सिबल्स’ टोलीका महत्वपूर्ण सदस्य बने ।
सन् २००६ को विश्वकपमा अर्जेन्टिनाका हाभियर मास्चेरानो पनि चर्चामा आए । २२ वर्षको उमेरमै उनले अर्जेन्टिनालाई क्वार्टरफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले ।
त्यतिबेला उनी ब्राजिलियन क्लब कोरिन्थियन्सबाट खेलिरहेका थिए । विश्वकपपछि उनी वेस्ट ह्याम युनाइटेड पुगे । तर त्यहाँ उनको बसाइ लामो भएन ।
सन् २००७ मा उनी लिभरपुल पुगे र क्लबलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याउन योगदान गरे ।
उनको करिअरको सबैभन्दा सफल अध्याय भने बार्सिलोनामा लेखियो । सन् २०१० मा बार्सिलोना पुगेपछि उनले दुई पटक यूईएफए च्याम्पियन्स लिग र पाँच पटक ला लिगाको उपाधि जिते ।
सन् २०१० को विश्वकपमा जर्मनीका मेसुट ओजिल विश्व फुटबलका चर्चित युवा प्रतिभामध्ये एक बने ।
२१ वर्षीय ओजिलले जर्मनीलाई तेस्रो स्थान दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरे । प्रतियोगितामा चार गोल र चार असिस्ट गरेपछि युरोपका ठूला क्लबको नजर उनीमाथि पर्यो ।
विश्वकप सकिएलगत्तै उनी करिब १५ मिलियन युरोमा रियाल मड्रिड पुगे ।
स्पेनिस क्लबमा उनले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जिते । पछि सन् २०१३ मा उनी ४२.४ मिलियन पाउन्डमा आर्सनल पुगे । त्यतिबेला उनी आर्सनल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका थिए ।
सन् २०१४ को विश्वकप कोलम्बियाका जेम्स रोड्रिगेजका लागि करिअरको निर्णायक मोड बन्यो ।
२३ वर्षीय जेम्सले प्रतियोगितामा ६ गोल गर्दै गोल्डेन बुट जिते । उरुग्वेविरुद्धको खेलमा उनले गरेको शानदार भली गोल विश्वकपकै सबैभन्दा चर्चित क्षणमध्ये एक बन्यो ।
फिफाको आधिकारिक वेबसाइटमा भएको मतदानमा उक्त गोललाई विश्वकपकै उत्कृष्ट गोल घोषित गरियो । त्यसै गोलका लागि उनले फिफा पुस्कास अवार्ड समेत जिते ।
विश्वकप सकिएको केही समयमै रियाल मड्रिडले उनलाई फ्रान्सेली क्लब मोनाकोबाट करिब ७५ मिलियन युरोमा अनुबन्ध गर्यो ।
यी उदाहरणले विश्वकपले खेलाडीको करिअरमा पार्न सक्ने प्रभाव देखाउँछन् । केही खेलाडी विश्वकपअघि सीमित घेरामा मात्र चिनिएका हुन्छन् भने प्रतियोगितापछि उनीहरू विश्वकै चर्चित क्लबको लक्ष्य बन्न पुग्छन् ।
एउटा निर्णायक गोल, उत्कृष्ट प्रदर्शन वा असाधारण बचाउले खेलाडीको परिचय मात्र बदल्दैन, उसको स्थानान्तरण मूल्य, लोकप्रियता र करिअरको दिशासमेत परिवर्तन गर्न सक्छ ।
त्यसैले विश्वकप राष्ट्रका लागि उपाधिको संघर्ष भए पनि खेलाडीका लागि भने आफ्नो प्रतिभा प्रमाणित गर्दै करिअरको नयाँ ढोका खोल्ने सबैभन्दा ठूलो अवसर पनि हो ।





