दोमुखमा कर्णाली नदीमाथि बेलीब्रीज बन्ने, मुगु–हुम्ला आवतजावत सहज हुने
1.4k
Shares
काठमाडौं । मुगु र हुम्ला जिल्लालाई जोड्ने कर्णाली नदीमाथि दोमुखमा बेलीब्रीज निर्माण हुने भएको छ । लामो समयदेखि मोटरेबल पुल निर्माणको काम अलपत्र परिरहेका बेला तत्कालका लागि बेलीब्रीज जडान प्रक्रिया अघि बढेपछि दुई जिल्लाबीचको यातायात सहज हुने अपेक्षा गरिएको छ ।
सोरु गाउँपालिका, मुगुका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार दोमुखमा बेलीब्रीज निर्माणको काम अब तत्काल अघि बढ्ने भएको हो । केही समयअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री जिल्लामा अनुगमनका क्रममा आएका बेला दोमुखमा बेलीब्रीज निर्माणका लागि माग गरिएको थियो । उक्त माग स्वीकृत भएपछि निर्माण प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो ।
बेलीब्रीज जडानका लागि आवश्यक संरचना निर्माण, जडान तथा ढुवानी खर्च गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धतासहितको प्रस्ताव सडक विभागमा पेस गरिएको थियो । उक्त प्रस्ताव साउन २० गते स्वीकृत भएपछि निर्माणको बाटो खुलेको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
यसअघि कर्णाली प्रदेश सरकार तथा सम्बन्धित निकायको समन्वयमा हुम्लाको खार्पुनाथ गाउँपालिकाअन्तर्गत चुवाखोलामा रहेको कर्णाली नदीको बेलीब्रीज दोमुखमा स्थानान्तरण गर्ने विषयमा साउन १४ गते सहमति भएको थियो ।
लामो समयदेखि दोमुखमा मोटरेबल पुल निर्माण अलपत्र रहेकाले दुई जिल्लाका स्थानीयलाई तत्काल यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले बेलीब्रीज निर्माण गर्न लागिएको हो । सडक विभागले बेलीब्रीज उपलब्ध गराउने र आवश्यक संरचना निर्माण तथा जडानको खर्च सोरु गाउँपालिकाले व्यहोर्ने सहमति भएको छ ।
बेलीब्रीज स्थानान्तरणको स्वीकृति आइसकेकाले दोमुखमा आवश्यक अन्य संरचना निर्माणको कामसमेत तत्काल अघि बढाइने अध्यक्ष शाहीले बताउनुभयो ।
हजारौँ स्थानीयलाई प्रत्यक्ष लाभ
बेलीब्रीज निर्माण भएपछि सोरु गाउँपालिकाको धैन क्षेत्र, हुम्लाको अदानचुली गाउँपालिका तथा कर्णाली करिडोरसँग जोडिएका बस्तीका नागरिकको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।
अदानचुली गाउँपालिका–२ का स्थानीय परबहादुर बुढाका अनुसार वर्षायाममा कर्णाली नदीका कारण शिक्षा, स्वास्थ्य, व्यापार, आपत्कालीन सेवा तथा दैनिक आवागमनमा स्थानीयले ठूलो समस्या झेल्दै आएका छन् । बेलीब्रीज सञ्चालनमा आएपछि ती समस्या धेरै हदसम्म समाधान हुने उहाँको भनाइ छ ।
स्थानीयका अनुसार पुल सञ्चालनमा आएपछि कर्णाली करिडोर हुँदै रारा पुग्ने छोटो मार्गसमेत थप सहज हुनेछ । यसबाट आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्नुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
बेलीब्रीज निर्माण सम्पन्न भएपछि मुगु र हुम्लाका हजारौँ स्थानीयको दैनिक आवागमन सहज हुनुका साथै दुई जिल्लाबीचको व्यापारिक तथा सामाजिक सम्बन्ध थप मजबुत हुने स्थानीयको विश्वास छ ।