प्रहरीको गोली लागेर मृत्यु भएका यादवको परिवारलाई मधेश सरकारले घर बनाइदिने

1.2k Shares

सिरहा । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।

मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतक यादवको परिवारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार परिवारका लागि दुईकोठे पक्की घर, किचन र शौचालय निर्माण गरिने भएको हो ।

प्रदेश सरकारले सञ्चालन गर्दै आएको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत यादवको परिवारलाई घर निर्माण गरिदिने सहमति भएको हो । यससम्बन्धी सहमतिपत्रमा प्रदेश सरकार र मृतक परिवारबीच समझदारी भएको जनाइएको छ ।

सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा गत १४ साउनमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।

मृतक यादवको परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएपछि प्रदेश सरकारको तर्फबाट घर निर्माण गरिदिने निर्णय गरिएको मन्त्री सिंहले बताएका छन् ।

यादवको मृत्युपछि परिवारको आर्थिक तथा सामाजिक अवस्थालाई लिएर विभिन्न पक्षबाट सहयोगको माग हुँदै आएको थियो । प्रदेश सरकारले आवास निर्माणको निर्णय गरेसँगै मृतक परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार