महोत्तरी। पर्याप्त वर्षा नहुँदा महोत्तरीका धान किसान यस वर्ष सिँचाइ अभाव, रासायनिक मलको कमी र सिँचाइ उपकरण चोरीको समस्याले एकैसाथ प्रभावित भएका छन्।
समयमै पानी नपरेपछि किसान स्यालो ट्युबवेलमार्फत मोटर प्रयोग गरी खेतमा सिँचाइ गर्न बाध्य भएका छन्। लगातार मोटर सञ्चालन गर्नुपर्दा डिजेल, विद्युत् र मजदुरी खर्च बढेपछि धान खेतीको लागत समेत बढ्दै गएको किसानहरूले बताएका छन्।
औरही नगरपालिका–१ र २ का अधिकांश किसानले धान रोपाइँ सके पनि खेतमा पर्याप्त पानी नजम्दा बाली जोगाउन कठिन भइरहेको बताएका छन्। किसानका अनुसार आकाशे पानीको भरमा धान खेती सम्भव नभएपछि पटक–पटक सिँचाइ गर्नुपर्ने अवस्था आएको छ।
औरही नगरपालिका–२ का किसान दिनेश यादवले खेतमा पानी टिक्न नसक्दा स्यालो ट्युबवेलबाट पटक–पटक सिँचाइ गर्नुपरेको र यसले उत्पादन लागत निकै बढाएको बताउनुभयो। उहाँले समयमा रासायनिक मल उपलब्ध नहुँदा किसान थप समस्यामा परेको उल्लेख गर्नुभयो।
सोही वडाका किसान घनश्याम यादवले मल सहज रूपमा उपलब्ध नहुने र पाइए पनि महँगो मूल्य तिर्नुपर्ने अवस्थाले खेतीबाट हुने आम्दानीभन्दा खर्च बढी हुने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो।
यसैबीच, सिँचाइका लागि प्रयोग हुने मोटर र विद्युत् तार चोरीका घटनाले किसानको समस्या थप बढाएको छ। औरही नगरपालिका–१ का किसान राकेश साहले केही दिनअघि आफ्नो सिँचाइ मोटर चोरी भएको जानकारी दिनुभयो। उहाँका अनुसार अर्का किसानको करिब ७ सय मिटर विद्युत् तारसमेत चोरी भएको छ।
सिँचाइ उपकरण चोरी बढेपछि कतिपय किसान रातभर खेतमै बसेर बाली र उपकरणको सुरक्षा गर्न बाध्य भएका छन्। पछिल्लो समय महोत्तरीसहित आसपासका क्षेत्रमा विद्युत् उपकरण चोरीका घटना पनि बढिरहेका छन्।
साउन १९ गते बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित पञ्चधुरा खानेपानीको ट्रान्सफर्मर चोरी हुँदा करिब २ सय घरमा खानेपानी आपूर्ति प्रभावित भएको थियो। यसअघि साउन १७ गते धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मरसमेत चोरी भएको थियो।
औरही नगरपालिकाका कृषि शाखा प्रमुख सुनिलकुमार यादवले पर्याप्त र निरन्तर वर्षा नहुँदा किसान स्यालो ट्युबवेलमा निर्भर हुनुपरेको बताउनुभयो। उहाँका अनुसार रासायनिक मल आपूर्ति संघीय तथा प्रदेशस्तरीय प्रणालीमार्फत हुने भएकाले केही समय अभाव देखिएको हो।
उहाँले दीर्घकालीन रूपमा सिँचाइ पूर्वाधार विस्तार तथा किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने योजना अघि बढाइएको जानकारी दिनुभयो।
कृषि विज्ञ डा. भगवान ठाकुरका अनुसार धानबालीको प्रारम्भिक विकास चरणमा पर्याप्त सिँचाइ र सन्तुलित मल व्यवस्थापन हुन नसके उत्पादनमा प्रत्यक्ष असर पर्छ। सिँचाइ उपकरण चोरीका घटनाले किसानमाथि थप आर्थिक भार पर्ने भएकाले स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ।
कृषिप्रधान क्षेत्रका रूपमा परिचित महोत्तरीमा यस वर्ष देखिएको सिँचाइ अभाव, मल संकट र उपकरण चोरीले किसानलाई थप चुनौती थपेको छ। समयमै समस्या समाधान हुन नसके धान उत्पादन घट्नुका साथै किसानको आम्दानी र स्थानीय खाद्य सुरक्षामा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।