हवाई इन्धन चोरी गर्दै पक्राउ परे पेट्रोल पम्प सञ्चालकसहित सात जना

2k Shares

पर्साको वीरगन्जस्थित एक पेट्रोल पम्पबाट हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–१४ स्थित सौदागर आयलमा छापा मार्दा ना.७ ख १५३९ नम्बरको हवाई इन्धन बोकेको ट्यांकरबाट ग्यालिनमा इन्धन निकाल्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा पेट्रोल पम्पका सञ्चालक सुनैन मियाँ, कर्मचारी असलम हवारी, वीरगन्ज–११ का रफिक मियाँ, हेटौँडा–११ का सन्देश रानामगर, हेटौँडा–१० का केशरराम सुनार, हेटौँडा–१४ का मन्दसिंह लामा र उमेश रानामगर रहेका छन्।

प्रहरीका अनुसार आरोपितहरूले ट्यांकरमा लगाइएको सुरक्षात्मक सिललाई फलामको पाइपमा जडान गरिएको हुकको प्रयोग गरी माथि सारेर ग्यालिनमा हवाई इन्धन निकालिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्।

घटनापछि पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी इन्धन चोरीको प्रकृति, संलग्नता र सम्भावित नेटवर्कबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले हवाई इन्धनजस्तो संवेदनशील वस्तुको चोरीमा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने जनाएको छ।

सम्बन्धित समाचार