सर्लाही । लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेका छन्। भर्खरै रोपिएको धानबाली पानीमुनि परेपछि किसान चिन्तित बनेका छन्।
सोमबार राति आएको बाढीले कौडेना गाउँपालिका–५ छपकैयास्थित बाँध भत्काएपछि बाढी बस्ती र खेतीयोग्य जमिनमा पसेको हो। डुबानका कारण कौडेना–५ छपकैयामा करिब ८ सय बिघा, मलङ्गवा नगरपालिका–६ खुटौनामा ५ सय बिघा र वडा नं. ५ भाडसरमा ३ सय बिघा धानखेत प्रभावित भएका छन्। केही घर र गोठसमेत बाढीबाट प्रभावित भएका छन्।
चार दिनदेखि डुबान कायम रहेपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ। सडकमाथिबाट पानी बगेकाले आवतजावतमा समेत समस्या भएको स्थानीयले बताएका छन्। भारतीय सीमावर्ती बजारसम्म पुग्न पनि कठिनाइ भइरहेको उनीहरूको भनाइ छ। बाढीले कटान गरेको क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले बोरामा बालुवा भरेर अस्थायी तटबन्ध निर्माण गरी बाँध थुन्ने प्रयास गरिरहेको छ।
स्थानीय किसानहरूले हरेक वर्ष बाँध भत्किँदा धानबाली र बस्तीमा क्षति पुग्ने गरेको भन्दै दीर्घकालीन समाधानका लागि स्थायी तटबन्ध निर्माण गर्न सरकारसँग माग गरेका छन्। गत वर्ष पनि यस्तै घटनामा ठूलो क्षति भए पनि पर्याप्त राहत वा क्षतिपूर्ति नपाएको उनीहरूको गुनासो छ।
कौडेना गाउँपालिकाले लखन्देही नदीको कटान र डुबान पुरानो समस्या भएको उल्लेख गर्दै तत्काल नियन्त्रणको काम भइरहेको र स्थायी समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक पहल भइरहेको जनाएको छ।