यमनमा हुथी विद्रोहीको आक्रमणमा कम्तीमा ३० सरकारी सैनिक मारिए

8.5k Shares

साना । मध्य यमनमा हुथी विद्रोहीहरूले सरकारी सैन्य शिविरहरूमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ३० जना यमनी सरकारी सैनिक मारिएका छन्। पछिल्ला केही वर्षयताकै सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको यस घटनामा दर्जनौं सैनिक घाइते भएका छन्।

यमनको रक्षा मन्त्रालयका अनुसार मारिब र हदरामौत प्रान्तस्थित विभिन्न सैन्य शिविरलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत आक्रमण गरिएको हो। मन्त्रालयले आक्रमणमा धेरै सैनिकको ज्यान गएको र ठूलो संख्यामा घाइते भएको जनाएको भए पनि मृतकको आधिकारिक संख्या सार्वजनिक गरेको छैन।

रक्षा मन्त्रालयले उक्त आक्रमणलाई ‘विश्वासघाती’ भन्दै यसको उचित समय र स्थानमा कडा जवाफ दिइने चेतावनी दिएको छ। उता, उत्तरपश्चिमी यमनको ठूलो भूभाग आफ्नो नियन्त्रणमा राखेका इरान समर्थित हुथी विद्रोहीहरूले भने आफूहरूले सैन्य अभियानको तयारी गरिरहेका भनिएका ठूला साउदी समर्थित सैन्य जमघटलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेका छन्।

यमनमा लामो समयदेखि जारी गृहयुद्धमा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले यमनी सरकारी सेनालाई समर्थन गर्दै आएको छ भने हुथी विद्रोहीहरू सरकारविरुद्ध लडिरहेका छन्।

यसैबीच, अर्को छुट्टै आक्रमणमा साउदी अरबको नजरान सीमावर्ती क्षेत्रमा हुथी विद्रोहीहरूले गरेको आक्रमणमा ११ जना सर्वसाधारण घाइते भएका छन्।

साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताका अनुसार घाइतेमध्ये सात जना साउदी नागरिक रहेका छन्। उनीहरूमध्ये एक महिला र चार वर्षका एक बालक पनि छन्। अन्य चार घाइते यमन, पाकिस्तान र इजिप्टका नागरिक रहेका छन्।

यमनको रक्षा मन्त्रालयका अनुसार मध्य यमनमा बिहीबार स्थानीय समयअनुसार बिहान १०:४० बजे उक्त आक्रमण भएको हो। त्यसपछि प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

सम्बन्धित समाचार