वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने प्रयासलाई पुनः अघि बढाएका छन्। केही साताअघि अमेरिकी सर्वोच्च अदालतले यससम्बन्धी उनको अघिल्लो प्रयास अस्वीकार गरेपछि उनले नयाँ दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
बिहीबार हस्ताक्षर गरिएका आदेशमध्ये पहिलोले जन्मसिद्ध नागरिकता प्राप्त गर्न अयोग्य ठहरिने गैर–नागरिकका सन्तानसम्बन्धी विद्यमान व्यवस्था थप कडा बनाएको छ। आदेशअनुसार अमेरिकामा जन्मिए पनि दुवै अभिभावक अमेरिकी नागरिक नभएका केही शिशुले स्वतः अमेरिकी नागरिकता पाउने व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।
दोस्रो कार्यकारी आदेशमार्फत ‘जन्मका लागि अमेरिका भ्रमण’ (बर्थ टुरिज्म) गर्ने अभ्यासमा प्रतिबन्ध लगाइएको छ। यसअन्तर्गत गर्भवती महिलाले आफ्ना सन्तानले अमेरिकी नागरिकता प्राप्त गर्न सकून् भन्ने उद्देश्यले अमेरिका पुगेर बच्चा जन्माउने प्रचलन रोक्ने व्यवस्था गरिएको छ।
ओभल अफिसबाट आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरै वर्षअघि नै लागू हुनुपर्ने भए पनि अहिले कार्यान्वयनमा ल्याइएको बताएका छन्। उनले १५० वर्ष पुरानो जन्मसिद्ध नागरिकताको व्यवस्थामा परिवर्तन गर्ने आफ्नो अघिल्लो प्रयास सर्वोच्च अदालतले अस्वीकार गरेको निर्णयप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।
कार्यकारी आदेशमा अमेरिकी नागरिकता प्रणालीको दुरुपयोग गर्ने विदेशी तत्वबाट राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको दाबी गरिएको छ। साथै विदेशी आतङ्ककारी समूहका सदस्य, विदेशी सरकारका कर्मचारी, ठगी वा जालसाजीमार्फत अमेरिकी नागरिकता प्राप्त गर्ने प्रयास गर्ने व्यक्ति तथा संघीय कानुनअनुसार नागरिकता प्रदान नगरिने अमेरिकी भूभागमा बसोबास गर्ने व्यक्तिका सन्तानलाई जन्मसिद्ध नागरिकताको सुविधा नदिइने उल्लेख गरिएको छ।
बीबीसीका अनुसार पुएर्टो रिकोजस्ता अमेरिकी भूभागमा जन्मिएका व्यक्तिको जन्मसिद्ध नागरिकताको अधिकार भने संघीय कानुनमार्फत सुरक्षित छ। ट्रम्प प्रशासनले लामो समयदेखि ‘जन्मका लागि अमेरिका भ्रमण’ गर्ने अभ्यासको आलोचना गर्दै रुस र चीनजस्ता प्रतिद्वन्द्वी मुलुकहरूले यसको दुरुपयोग गरिरहेको आरोप लगाउँदै आएको छ।
राष्ट्रपति ट्रम्पले ‘जन्मका लागि अमेरिका भ्रमण’मार्फत अमेरिकामा सयौँ हजार शिशु जन्मिने दाबी गरेका छन्। तर, गैरदलीय अनुसन्धान संस्थाको तथ्याङ्कअनुसार हरेक वर्ष करिब २२ हजारदेखि २६ हजार शिशु मात्रै यस प्रक्रियाबाट जन्मिने अनुमान गरिएको छ। सन् २०२४ मा विदेशी ठेगाना भएका आमाबाट अमेरिकामा ९ हजार ६०० शिशु जन्मिएको सरकारी तथ्याङ्क पनि सार्वजनिक गरिएको छ।
ह्वाइट हाउसका उपप्रमुख तथा गृहभूमि सुरक्षा सल्लाहकार स्टिफन मिलरले पर्यटक वा आगन्तुकका रूपमा अमेरिका प्रवेश गर्ने केही व्यक्तिको वास्तविक उद्देश्य बच्चा जन्माएर अमेरिकी नागरिकता दिलाउनु रहेको दाबी गर्दै यस्तो अभ्यास रोक्न कडा कदम आवश्यक रहेको बताएका छन्।