नेपाली चर्चित रक ब्यान्ड १९७४ एडी ले पहिलोपटक पोर्चुगलमा सांगीतिक प्रस्तुति दिँदै आफ्नो ‘रक यात्रा’ युरोप टुर सुरु गरेको छ। उद्घाटन कन्सर्ट पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको हो, जहाँ करिब १ हजार ५ सयभन्दा बढी दर्शक सहभागी भएका थिए।
ब्यान्डका म्यानेजर अनुज कार्कीका अनुसार पोर्चुगलमा १९७४ एडीको यो पहिलो सांगीतिक प्रस्तुति हो। पहिलो कार्यक्रममै उल्लेख्य दर्शकको साथ पाउँदा सम्पूर्ण टोली उत्साहित भएको उनले बताए।
उनका अनुसार ‘रक यात्रा’को मुख्य उद्देश्य विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायलाई नेपाली संगीतमार्फत एकताबद्ध गर्नु हो। पोर्चुगलबाट सुरु भएको यो सांगीतिक यात्रा युरोपका विभिन्न देशमा निरन्तर जारी रहने उनले जानकारी दिए।
निर्धारित तालिकाअनुसार ब्यान्डले अगस्ट ८ मा डेनमार्क, अगस्ट ९ मा फ्रान्स, अगस्ट १५ मा पोल्यान्ड, अगस्ट २० मा माल्टा र अगस्ट २३ मा बेल्जियममा सांगीतिक प्रस्तुति दिनेछ।
ब्यान्डले ‘आइ पपर्स’सँगको सहकार्यमा युरोपका विभिन्न शहरमा कार्यक्रम आयोजना गर्ने जनाएको छ।
हाल १९७४ एडीमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह सदस्य रहेका छन्। युरोप टुरमार्फत ब्यान्डले विदेशमा रहेका नेपाली दर्शकमाझ आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने तयारी गरेको छ।