एससी भिल्लाका कप्तान डेभिड ओवोरीको आक्रमणपछि निधन

6.3k Shares

युगान्डाका चर्चित फुटबल खेलाडी तथा एससी भिल्लाका कप्तान डेभिड ओवोरीको लुटपाटको क्रममा भएको हिंसात्मक आक्रमणपछि निधन भएको छ। प्रहरीका अनुसार राजधानी कम्पालामा मंगलबार भएको घटनामा उनीमाथि संदिग्ध लुटेराहरूको समूहले आक्रमण गरेको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार लुटेराहरूले ओवोरीको सामान लुट्ने प्रयास गरेका थिए। उनले प्रतिरोध गरेपछि आक्रमणकारीहरूले उनीमाथि ढुंगासहितका वस्तु प्रयोग गरी निर्मम आक्रमण गरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार गम्भीर घाइते अवस्थामा ओवोरी घटनास्थलमै अचेत भेटिएका थिए भने आक्रमणकारीहरू उनको सामान लिएर फरार भएका थिए। स्थानीय बासिन्दाले तत्काल उद्धार गरी नजिकैको स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए। त्यहाँबाट थप उपचारका लागि कम्पालास्थित एक निजी अस्पतालमा रेफर गरिए पनि उपचारकै क्रममा बुधबार उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ।

२७ वर्षीय ओवोरी युगान्डाको शीर्ष डिभिजन युगान्डा प्रिमियर लिग अन्तर्गतको सफल क्लब एससी भिल्लाका कप्तान थिए। उनी टोलीका भरपर्दा रक्षात्मक खेलाडीका रूपमा परिचित थिए भने राइट–ब्याक र मिडफिल्ड दुवै भूमिकामा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।

क्लब फुटबलसँगै उनले युगान्डाको राष्ट्रिय फुटबल टोली द क्रेन्सबाट पनि देशको प्रतिनिधित्व गरेका थिए। नेतृत्व क्षमता, अनुशासन र मेहनती स्वभावका कारण उनी समर्थक तथा सहकर्मी खेलाडीहरूमाझ निकै लोकप्रिय थिए।

ओवोरीको असामयिक निधनपछि एससी भिल्लाले आधिकारिक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। प्रहरीले घटनामा संलग्न लुटेराहरूको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार