ट्रम्प सवार ‘मरिन वन’ हेलिकोप्टर यात्रुवाहक विमानसँग नजिक पुगेको घटनाको छानबिन

1.4k Shares

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सवार ‘मरिन वन’ सैन्य हेलिकोप्टर र एक व्यावसायिक यात्रुवाहक विमानबीच उडानका क्रममा आवश्यकभन्दा कम दूरी भएको हुन सक्ने घटनाको अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन्। ह्वाइट हाउसले भने उक्त घटनाका क्रममा राष्ट्रपति ट्रम्पको सुरक्षामा कुनै जोखिम नपरेको स्पष्ट पारेको छ।

न्युयोर्क टाइम्सका अनुसार हवाई यातायात नियन्त्रणसँगको सञ्चारमा समस्या देखिएपछि ‘मरिन वन’ र यात्रुवाहक विमानबीचको दूरी एक माइलभन्दा कम भएको हुन सक्ने प्रारम्भिक जानकारी सार्वजनिक भएको हो।

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) ले अगस्ट ४ मा वासिङ्टन राष्ट्रिय विमानस्थलबाट उडेको व्यावसायिक विमान र ‘मरिन वन’ बीच आवश्यक सुरक्षा दूरी कायम भए–नभएको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले ‘मरिन वन’ विश्वका उत्कृष्ट सैन्य चालकहरूले सञ्चालन गर्ने हेलिकोप्टर भएकाले उडानको कुनै पनि चरणमा राष्ट्रपति ट्रम्पको सुरक्षामा खतरा नपरेको बताएका छन्।

त्यस्तै, सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात नियन्त्रक दुवै उडानका चालकसँग निरन्तर सम्पर्कमा रहेको र घटनाको विस्तृत समीक्षा जारी रहेको जनाएको छ। आवश्यक परे थप सुधारात्मक कदम चालिने एफएएको भनाइ छ।

वाल स्ट्रिट जर्नलका अनुसार यस्ता उडानमा कम्तीमा १.५ माइल तेर्सो दूरी र ५०० फिट ठाडो दूरी कायम गर्नुपर्ने सुरक्षा मापदण्ड छ। घटनाका बेला ‘मरिन वन’ एन्ड्र्युज वायुसेना अड्डातर्फ गइरहेको थियो, जहाँबाट राष्ट्रपति ट्रम्प क्यालिफोर्नियाका लागि राष्ट्रपतिको विशेष विमान चढ्ने कार्यक्रम थियो।

त्यही समयमा अमेरिकन एयरलाइन्सको सहायक कम्पनी एन्भोय एयरले सञ्चालन गरेको एम्ब्रेयर ई–१७० विमान पनि उडानमा रहेको बताइएको छ। घटनाबारे अमेरिकन एयरलाइन्स र अमेरिकी मरीन कोर्प्सले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

वासिङ्टन राष्ट्रिय विमानस्थल आसपासको हवाई सुरक्षा पछिल्लो समय विशेष निगरानीमा छ। सन् २०२५ को जनवरीमा सोही क्षेत्रमा यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो। त्यसपछि एफएएले विमानस्थल वरपरका हवाई सुरक्षा मापदण्ड थप कडा बनाएको छ। -रासस/एएफपी

सम्बन्धित समाचार