हुम्लाका विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि बहुपक्षीय भेला सुरु
4.4k
Shares
काठमाडौं । हुम्लाका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सरोकारवाला सबै पक्षको सहभागितामा बहुपक्षीय भेला आयोजना गर्न थालिएको छ। विद्यालयका असल अभ्यास आदान–प्रदान गर्ने, समस्या पहिचान गर्ने र समाधानका उपाय तय गर्ने लक्ष्यसहित पहिलो पटक सर्केगाड गाउँपालिकास्थित लालीगुराँस माध्यमिक विद्यालयले यस्तो भेला आयोजना गरेको हो।
भेलामा अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, शिक्षक तथा अन्य सहयोगी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा विद्यालयको शैक्षिक अवस्था, सुधारका उपाय तथा विभिन्न चुनौतीबारे खुला रूपमा विचार आदान–प्रदान गरिएको थियो।
करिब डेढ सय जनाको सहभागिता रहेको भेलामा सहभागी सबै पक्षले आ–आफ्नो जिम्मेवारीअनुसार विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भेलाबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै विद्यालयको शिक्षण सिकाइको गुणस्तर थप सुधार गरिने विद्यालयले जनाएको छ।
खार्पुनाथ गाउँपालिका–५ का वडाध्यक्ष तथा मान्धारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजङ्ग शाहीले विद्यालयको शैक्षिक विकाससँगै व्यवस्थापन र अन्य पक्षमा समेत सुधार ल्याउन यस्ता बहुपक्षीय बैठक प्रभावकारी हुने बताए।
शिक्षा विकास तथा समन्वय एकाइले विद्यालयका सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएर संयुक्त रूपमा छलफल गर्ने अभ्यास प्रशंसनीय भएको उल्लेख गर्दै यसले विद्यालयको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।