चन्द्रमामा ठोक्किएको हुनसक्ने स्पेसएक्स रकेटको अवशेषबारे वैज्ञानिकहरूको अनुमान

988 Shares

काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको फाल्कन–९ रकेटको प्रयोगपछि अन्तरिक्षमा छाडिएको माथिल्लो भाग (अपर स्टेज) चन्द्रमाको सतहमा अनियन्त्रित रूपमा ठोक्किएको हुनसक्ने वैज्ञानिकहरूले बताएका छन्।

वैज्ञानिकहरूका अनुसार उक्त करिब ४ टन तौलको रकेटको भाग सन् २०२५ मा चन्द्र अभियानका लागि प्रक्षेपण गरिएको थियो। आफ्नो मुख्य कार्य पूरा गरेपछि अन्तरिक्षमै भौतारिँदै आएको यो अवशेष अन्ततः चन्द्रमाको आइन्स्टाइन क्रेटर नजिकको क्षेत्रमा उच्च गतिमा ठोक्किएको अनुमान गरिएको छ।

यस घटनाले पृथ्वीमा कुनै खतरा नपुर्‍याउने भए पनि चन्द्रमाको सतहमा नयाँ खाडल (क्रेटर) बनेको हुनसक्ने वैज्ञानिकहरूको भनाइ छ। टेलिस्कोप तथा चन्द्रमाको परिक्रमा गरिरहेका यानबाट प्राप्त हुने तस्बिरहरूको विश्लेषणपछि मात्रै ठोक्किएको स्थान र त्यसको प्रभावबारे आधिकारिक पुष्टि हुने अपेक्षा गरिएको छ।

विशेषज्ञहरूले यस घटनालाई अन्तरिक्षमा बढ्दो रकेट तथा अन्य अवशेष व्यवस्थापनको चुनौतीका रूपमा समेत हेरेका छन्। साथै, यस्तो आकस्मिक ठक्करले चन्द्रमाको सतह, धुलोको फैलावट तथा भविष्यका चन्द्र अभियानमा अन्तरिक्ष फोहोरको प्रभावबारे अध्ययन गर्ने अवसर पनि प्रदान गर्ने उनीहरूको विश्वास छ।

सम्बन्धित समाचार