गोलबजार गोलीकाण्ड : उच्चस्तरीय छानबिन समितिले स्थानीयस्तरबाट अनुसन्धान तीव्र बनायो

1k Shares

काठमाडौं । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले स्थानीयस्तरमा छलफल र प्रमाण संकलनलाई तीव्र बनाएको छ।

गृहमन्त्रालयले सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा गठन गरेको समितिले घटनास्थलको स्थलगत अवलोकन, आवश्यक तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गर्दै अनुसन्धान अघि बढाएको छ।

समितिले सोमबार घटनास्थलहरूको निरीक्षण गरेपछि मंगलबार बिहान गोलबजार नगरपालिकामा सर्वदलीय बैठक गरी घटनाबारे जानकारी लिएको थियो। त्यसपछि उद्योग वाणिज्य संघ गोलबजारका पदाधिकारी तथा व्यवसायीसँग भेटेर आन्दोलनका क्रममा भएको क्षति, घटनाको पृष्ठभूमि र उनीहरूको गुनासो सुनेको जनाएको छ।

यस्तै, समितिले मुस्लिम समुदायका प्रतिनिधिसँग पनि छुट्टै छलफल गरी घटनाको कारण, त्यसको प्रभाव र सामाजिक सद्भाव कायम गर्ने उपायबारे सुझाव संकलन गरेको छ।

समितिका संयोजक शाहीका अनुसार सुनसरीबाट सुरु भएको तनाव सिरहाको गोलबजारसम्म कसरी फैलियो, आन्दोलनका क्रममा प्रहरीलाई गोली चलाउनुपर्ने अवस्था किन आयो र गणेश यादवको मृत्यु कसरी भयो भन्ने विषयलाई केन्द्रमा राखेर छानबिन भइरहेको छ। सत्यतथ्य पत्ता लगाई प्रतिवेदन गृहमन्त्रालयमा बुझाइने उनले बताएका छन्।

यसैबीच, आन्दोलनका क्रममा व्यवसायीले बेहोरेको भौतिक तथा आर्थिक क्षतिको विवरण स्थानीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले संकलन गरिरहेको छ। व्यवसायी र स्थानीय जनप्रतिनिधिले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सम्बन्धित समाचार