काठमाडौं । भारत र चीनले नेपालको दाबी रहेको लिपुलेक क्षेत्र हुँदै परम्परागत सीमा व्यापार औपचारिक रूपमा पुनः सञ्चालन गरेका छन्। कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको व्यापार उत्तराखण्डको लिपुलेक र हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट पुनः सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्राप्त जानकारीअनुसार लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना भारतीय व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन्। शिप्की–ला नाकाबाट पनि पहिलो समूहका व्यापारी तिब्बततर्फ प्रस्थान गरेका छन्। यसअघि जुन १ देखि व्यापार पुनः सञ्चालन गर्ने सहमति भए पनि पूर्वाधार र प्रशासनिक तयारी अपुग भएकाले कार्यान्वयन हुन सकेको थिएन।
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ। त्यसैले भारत र चीनले नेपालको सहमति वा सहभागिताबिना लिपुलेक हुँदै व्यापार पुनः सञ्चालन गर्ने निर्णयप्रति नेपालले यसअघि नै असहमति जनाएको थियो।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग सम्बन्धित कुनै पनि विषयमा नेपाललाई बेवास्ता गरेर गरिने निर्णय स्वीकार्य नहुने स्पष्ट पारेको थियो।
यद्यपि व्यापार पुनः सञ्चालन भइसकेपछि नेपाल सरकारको तर्फबाट औपचारिक नयाँ प्रतिक्रिया सार्वजनिक भएको छैन। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने सरकारले यस विषयलाई गम्भीर रूपमा लिएको र कूटनीतिक माध्यमबाट आफ्नो धारणा सम्बन्धित पक्षसमक्ष राख्ने बताएका छन्।
सन् २०१५ मा भारत र चीनबीच लिपुलेक हुँदै व्यापार तथा आवागमन विस्तार गर्ने सहमति भएपछि नेपालले औपचारिक विरोध जनाएको थियो। त्यसपछि सन् २०२० मा भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि नेपाल–भारत सम्बन्धमा तनाव उत्पन्न भएको थियो।
त्यसै वर्ष नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्दै उक्त क्षेत्र आफ्नो भूभाग भएको दाबी दोहोर्याएको थियो। भारतले भने लिपुलेक उत्तराखण्डको पिथौरागढ जिल्लाअन्तर्गत पर्ने आफ्नो भूमि भएको अडान राख्दै आएको छ।
चिनियाँ पक्षले तक्लाकोट व्यापार केन्द्रमा पूर्वाधार सीमित रहेको जनाउँदै पहिलो चरणमा २० जनालाई मात्र प्रवेश अनुमति दिएको थियो। साथै सन् २०१९ को अन्तिम व्यापारिक सिजनमा सहभागी भएका तथा २०२० मा व्यापार बन्द हुँदा सामान अड्किएका व्यापारीलाई प्राथमिकता दिन आग्रह गरिएको थियो।
धार्चुलाका उपजिल्ला अधिकारी तथा जिल्ला व्यापार अधिकारी आशिष जोशीका अनुसार यस व्यापारिक सिजनका लागि हालसम्म ६२ व्यापारी र ९३ सहयोगीसहित १५५ वटा व्यापार पास जारी गरिएको छ। अर्को समूहलाई अनुमति दिन भारतीय प्रशासनले चिनियाँ पक्षसँग अनुरोध गरिसकेको छ।
हिमाचल प्रदेशको शिप्की–ला दर्रा हुँदै पनि सीमा व्यापार पुनः सञ्चालन भएको छ। पहिलो चरणमा १६ जना भारतीय व्यापारी घोडामार्फत तिब्बततर्फ गएका छन्। यो व्यापार नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ र परम्परागत वस्तु विनिमय (बार्टर) प्रणालीमा आधारित रहनेछ।
भारतीय व्यापारीले सुक्खा फलफूल, मसला, हस्तकला सामग्री, जडीबुटीलगायत ३६ प्रकारका वस्तु निर्यात गर्न पाउनेछन् भने चिनियाँ व्यापारीले पस्मिना, ऊन, याकको रौँ, भेडा तथा बाख्राको छाला, चाइना क्लेलगायत २० प्रकारका वस्तु भारत ल्याउन अनुमति पाएका छन्।