काठमाडौं । साविक विजेता पोल्यान्डले अमेरिकालाई पाँच सेटसम्म चलेको रोमाञ्चक फाइनलमा ३–२ ले पराजित गर्दै एफआईभीबी पुरुष भलिबल नेसन्स लिग (भिएनएल) २०२६ को उपाधि जितेको छ। चीनको निङ्बोमा आइतबार भएको फाइनलमा पोल्यान्डले २–१ ले पछि परेको अवस्था उल्टाउँदै लगातार दुई सेट आफ्नो पक्षमा पारेर लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक उपाधि उचाल्यो।
फाइनलमा पोल्यान्डले अमेरिकालाई २५–२१, २३–२५, २५–२७, २५–२३ र १५–१० को सेटमा हराएको हो। चौथो र पाँचौँ सेटमा उत्कृष्ट पुनरागमन गर्दै पोल्यान्डले उपाधि आफ्नो नाममा सुरक्षित गर्यो।
यस जितसँगै पोल्यान्ड भलिबल नेसन्स लिगको इतिहासमा तीन पटक उपाधि जित्ने पहिलो राष्ट्र बनेको छ। यसअघि उसले सन् २०२३ मा अमेरिकालाई तथा २०२५ मा इटालीलाई हराउँदै उपाधि जितेको थियो। यस संस्करणमा पोल्यान्डका टोमस फोर्नाल प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भए।
अमेरिकाले भने चौथो पटक भिएनएलको फाइनल खेले पनि उपाधि जित्ने सपना अझै पूरा गर्न सकेको छैन।
यता तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा स्लोभेनियाले जापानलाई ३–२ को सेटमा पराजित गर्दै कास्य पदक जित्यो। प्रारम्भिक चरणका सबै १२ खेल जितेर प्रभाव जमाएको जापान अन्तिम दुई खेलमा पराजित हुँदै पदकबाट समेत वञ्चित भयो।