याङ्गुन । म्यानमारकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीले सोमबार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गरेकी छन्। सन् २०२१ मा भएको सैन्य ‘कू’पछि सुची र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेट हो।
म्यानमारको राष्ट्रपति कार्यालयका अनुसार आईसीआरसीका म्यानमारस्थित आवासीय प्रतिनिधि आर्नोद डे बाकले सोमबार बिहान सुचीसँग भेट गरेका हुन्। राष्ट्रपति कार्यालयले भेटवार्ताबारे जानकारी दिँदै केही तस्बिरसमेत सार्वजनिक गरेको छ।
सन् २०२१ फेब्रुअरीमा सेनाले सुची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उनलाई पक्राउ गरी विभिन्न आरोपमा जेल पठाइएको थियो। त्यसयता म्यानमारमा राजनीतिक संकटसँगै गृहयुद्ध चर्किएको छ।
सैन्य सरकारले गराएको सीमित र नियन्त्रित निर्वाचनपछि अप्रिलमा सैन्य प्रमुख मिन आङ ह्लाइङ नागरिक राष्ट्रपति बनेका थिए। त्यसपछि सुचीको बाँकी सजाय घटाएर उनलाई घरमै नजरबन्दमा राख्ने निर्णय गरिएको थियो।
८१ वर्षीया सुचीमाथि लगाइएका विभिन्न आरोपलाई मानवअधिकार तथा लोकतन्त्र पक्षधर समूहहरूले राजनीतिक उद्देश्यबाट प्रेरित र बनावटी भएको भन्दै आलोचना गर्दै आएका छन्।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेका तस्बिरहरूमा सुचीले आईसीआरसीका प्रतिनिधिसँग हात मिलाएको र जन्मदिनको केक काटिरहेको देखिन्छ। एउटा केकमा ‘ह्याप्पी बर्थडे आन्टी सु’ लेखिएको पनि देखिएको छ।
यद्यपि, समाचार संस्था एएफपीले ती तस्बिरहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। प्रारम्भिक कृत्रिम बुद्धिमत्ता (एआई) परीक्षणमा भने तस्बिरहरूमा कृत्रिम हेरफेर गरिएको स्पष्ट प्रमाण नभेटिएको जनाइएको छ।