खडेरीले धान रोपाइँ प्रभावित भएपछि कर्णाली सरकारद्वारा अध्ययन कार्यदल गठन

1.1k Shares

सल्यान । कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रमा धान रोपाइँमा परेको असरको स्थलगत अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिवस्तरीय निर्णयमार्फत गठन गरेको कार्यदलले सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ देखि ७ र सुर्खेतको सिम्ता गाउँपालिका–१, ३, ४, ५, ६ र ७ मा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको अवस्थाको अध्ययन गर्नेछ।

प्रदेशसभाको साउन १५ गतेको बैठकमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले शून्य समयमा खडेरीका कारण किसानले धान रोप्न नसकेको विषय उठाएपछि मन्त्रालयले अध्ययन प्रक्रिया अघि बढाएको जनाएको छ।

कार्यदलको संयोजकमा मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ (दशौँ तह) चित्रबहादुर रोकाय रहेका छन्। सदस्यमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका इन्जिनियर प्रतिनिधि, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सुर्खेत र सल्यानका इन्जिनियर प्रतिनिधि तथा मन्त्रालयका बागवानी विकास अधिकृत विशाल खत्री रहेका छन्।

कार्यदलले प्रभावित क्षेत्रमा पुगेर स्थानीय तह, किसान, सरोकारवाला निकाय तथा सम्बन्धित कार्यालयसँग समन्वय गरी खडेरीका कारण, कृषि उत्पादनमा परेको प्रभाव र समाधानका सम्भावित उपायबारे अध्ययन गर्नेछ। अध्ययनपछि तयार पारिएको प्रतिवेदन मन्त्रालयमा बुझाइनेछ।

यस वर्ष पर्याप्त वर्षा नहुँदा सल्यानको बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका अधिकांश खेतमा धान रोपाइँ हुन सकेको छैन। वर्षामा निर्भर किसानहरू समयमै रोपाइँ गर्न नपाउँदा खाद्य उत्पादन घट्ने चिन्ता बढेको छ।

प्रदेश सरकारले कार्यदलको प्रतिवेदनका आधारमा खडेरी प्रभावित किसानलाई राहत, वैकल्पिक सिँचाइको व्यवस्था तथा दीर्घकालीन समाधानका कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार