काठमाडौं । भारतको राजधानी दिल्लीमा भएको ‘जेनजी’ आन्दोलन दबाउन सुरक्षाकर्मीले प्रतिबन्धित मानिने पेलेट गन प्रयोग गरेको आरोप सार्वजनिक भएपछि विपक्षी दलहरूले केन्द्र सरकारसँग जवाफ मागेका छन्। बीबीसीको अनुसन्धानले प्रदर्शनकारीमाथि पेलेट गन प्रयोग भएको संकेत गरेपछि घटनाले नयाँ राजनीतिक बहस सुरु भएको हो।
गत जुलाई २० मा हजारौं प्रदर्शनकारीले शिक्षा सुधार र शिक्षामन्त्रीको राजीनामाको माग गर्दै संसदतर्फ मार्च गर्ने क्रममा प्रहरी र अर्धसैनिक बलसँग झडप भएको थियो। त्यसक्रममा लाठीचार्ज, अश्रुग्यास र अत्यधिक बल प्रयोग भएको आरोप लागेको थियो। दिल्ली प्रहरीले आफ्ना ११८ सुरक्षाकर्मी र ६० प्रदर्शनकारी घाइते भएको जनाएको छ, तर नागरिक अधिकारकर्मीहरूले वास्तविक घाइतेको संख्या अझ धेरै रहेको दाबी गरेका छन्।

बीबीसीले चार वटा घटनाको अनुसन्धानका क्रममा अस्पतालका अभिलेख, एक्स–रे र विशेषज्ञहरूको रायका आधारमा केही प्रदर्शनकारी पेलेट गनबाट घाइते भएको निष्कर्ष सार्वजनिक गरेको छ। फरेन्सिक तथा हतियार विज्ञहरूले शरीरमा देखिएका दर्जनौं साना गोलाकार घाउहरू ‘बर्डसट’ अर्थात् पेलेटका कारण भएको बताएका छन्।
दिल्ली प्रहरीले भने आन्दोलनमा पेलेट गन प्रयोग गरिएको आरोप अस्वीकार गर्दै त्यसलाई भ्रामक दाबी भनेको छ। यद्यपि विपक्षी दलका नेताहरूले घटनाको स्वतन्त्र छानबिन र बल प्रयोगसम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरेका छन्।
मानवअधिकारकर्मीहरूले पेलेट गनले स्थायी अपाङ्गता, दृष्टि गुम्ने जोखिम तथा ज्यानै जाने अवस्था सिर्जना गर्न सक्ने भन्दै यसको प्रयोगको आलोचना गर्दै आएका छन्। कश्मीरमा वर्षौंदेखि प्रयोग हुँदै आएको यो हतियार दिल्लीमा प्रदर्शनकारीविरुद्ध प्रयोग भएको पुष्टि भए त्यसलाई अभूतपूर्व घटना मानिने विश्लेषण गरिएको छ।
यसैबीच, घटनापछि र्यापिड एक्सन फोर्स (RAF) ले दिल्लीमा पेलेट गन, एन्टी–रायट गन र विद्युतीय झड्का दिने उपकरणको प्रयोग अर्को आदेश नभएसम्म रोक्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
-(बीबीसी हिन्दीमा प्रकाशित गीता पाण्डेको सामग्री)