अमेरिकी पर्यटक भिसा झन् महँगो, २० हजार डलरसम्म धरौटी अनिवार्य

4.6k Shares

काठमाडौं । अमेरिका भ्रमण गर्न चाहने नेपालीले अब पर्यटक तथा व्यापारिक (बी–१/बी–२) भिसा प्राप्त गर्नुअघि ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरिएको ‘भिसा धरौटी’ (Visa Bond) प्रणालीलाई परीक्षण कार्यक्रमबाट स्थायी व्यवस्थामा रूपान्तरण गर्ने निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार बी–१ र बी–२ भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा जारी हुनुअघि अनिवार्य रूपमा १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। नेपाली रुपैयाँमा यो रकम करिब ३० लाख रुपैयाँसम्म पुग्न सक्छ।

यसअघि परीक्षण कार्यक्रमअन्तर्गत ५ हजार, १० हजार र १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो। स्थायी नियम लागू भएसँगै ५ हजार डलरको विकल्प हटाइएको छ भने अधिकतम सीमा बढाएर २० हजार डलर पुर्‍याइएको छ।

धरौटी रकम भिसा अन्तर्वार्तापछि कन्सुलर अधिकारीले आवश्यक ठहर गरेमा मात्र तिर्नुपर्नेछ। भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार अमेरिका छाडेमा उक्त रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यो व्यवस्था मुख्य रूपमा पर्यटक तथा व्यापारिक प्रयोजनका बी–१/बी–२ भिसाका लागि लागू हुनेछ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटानसहित विश्वका ५० देशका नागरिक यस व्यवस्थाको दायरामा परेका छन्।

अमेरिकाले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने (ओभरस्टे) प्रवृत्ति नियन्त्रण गर्न, कागजात प्रमाणीकरण र आप्रवासन नियमको पालना सुनिश्चित गर्न यस्तो व्यवस्था स्थायी बनाएको जनाएको छ। कन्सुलर अधिकारीले आवेदकको यात्रा उद्देश्य, आर्थिक अवस्था र जोखिम मूल्यांकनका आधारमा १० हजार, १५ हजार वा २० हजार अमेरिकी डलरमध्ये उपयुक्त धरौटी रकम निर्धारण गर्न सक्नेछन्।

सम्बन्धित समाचार