युद्ध होइन वार्तामा जोड: ट्रम्पले इरान आक्रमण तत्कालका लागि रोके

55k Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको ठूलो सैन्य हमला तत्कालका लागि रोकिएको घोषणा गरेका छन्। उनले इरानसँग युद्ध अन्त्य गर्ने दिशामा सम्झौताको प्रारम्भिक ढाँचा (परिमिटर) तयार भएको दाबी गर्दै होर्मुज स्ट्रेट तत्काल खोलिने बताएका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरान र मध्यपूर्वका अन्य देशहरूले थप समय मागेपछि सैन्य कारबाही स्थगित गर्ने निर्णय गरिएको बताएका छन्। उनका अनुसार प्रस्तावित सम्झौतामा इरानको आणविक खतरा अन्त्य गर्ने र होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषय समेटिएको छ।

ट्रम्पले यदि सम्झौता छिट्टै अन्तिम रूप नपुगेमा अमेरिका आवश्यक परे पुनः सैन्य विकल्प प्रयोग गर्न तयार रहेको चेतावनी पनि दिएका छन्। उनले इजरायलले पनि यो कूटनीतिक प्रयासमा समर्थन जनाएको दाबी गरेका छन्।

यद्यपि इरानले अमेरिकी आक्रमण भए कडा जवाफ दिने अडान दोहोर्‍याएको छ। इरानी अधिकारीहरूले कुनै पनि नयाँ सैन्य हस्तक्षेप भए त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन्।

विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मानिने होर्मुज स्ट्रेटमा पछिल्ला महिनाहरूमा तनाव बढ्दा अन्तर्राष्ट्रिय तेल बजारसमेत प्रभावित भएको थियो। यसबीच ट्रम्पको घोषणाले मध्यपूर्वमा तत्कालका लागि तनाव कम हुने अपेक्षा गरिएको छ, तर सम्झौता औपचारिक रूपमा कार्यान्वयन नभएसम्म स्थिति अझै अनिश्चित रहेको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार