सप्तरीमा कर्फ्यु कायमै, बिहान ७ देखि ९ बजेसम्म अत्यावश्यक सामग्री किन्न पाइने

4.3k Shares

सप्तरी । सप्तरी जिल्लाका कर्फ्यु प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् राखिएको छ। तर सर्वसाधारणलाई अत्यावश्यक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले आइतबार बिहान ७ बजेदेखि ९ बजेसम्म दुई घण्टाका लागि कर्फ्यु खुकुलो पारिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको समयभित्र सर्वसाधारणले दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिद गर्न सक्नेछन्। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको सूचनामा आवश्यक सामान खरिद गरी तोकिएको समयभित्र आ–आफ्नो निवासमा फर्की कर्फ्युको पूर्ण पालना गर्न सबैलाई आग्रह गरिएको छ।

प्रशासनले कर्फ्यु खुकुलो पारिएको अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला भई हुलदङ्गा, अशान्ति वा उच्छृङ्खल गतिविधि गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। बिहान ९ बजेपछि कर्फ्यु पुनः पूर्ण रूपमा लागू हुने र शान्ति–सुरक्षा कायम राख्न सबैको सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ।

सप्तरीको बोदेबरसाइन क्षेत्रमा साउन १४ गते राति १० बजेदेखि र राजविराज क्षेत्रमा साउन १५ गते बिहान ८ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। सुनसरीमा भएको साम्प्रदायिक तनावपछि मधेशका विभिन्न जिल्लामा सुरक्षा सतर्कता बढाइएकाले सप्तरीमा पनि कर्फ्यु लागू गरिएको हो।

सम्बन्धित समाचार