फिफाले विश्वकपमा निजी लगानी भित्र्याउने योजना फिर्ता लियो

176.7k Shares

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद योजना फिर्ता लिएको छ। सदस्य राष्ट्रहरूबीच मतभेद बढेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उक्त प्रस्ताव अघि नबढाउने घोषणा गरेका हुन्।

इन्फान्टिनोले योजना अनुमोदन भए सदस्य राष्ट्रहरूलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव अघि सारेका थिए। तर, युरोपेली फुटबल महासंघ (यूईएफए), कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी) लगायतका प्रमुख क्षेत्रीय महासंघहरूले यसको कडा विरोध जनाएका थिए। व्यापक असहमतिका कारण प्रस्ताव पारित हुने सम्भावना कमजोर बनेको थियो।

विवाद चर्किँदै गएपछि फिफाका वरिष्ठ रणनीतिक सल्लाहकार कार्लोस कोर्डेइरोले पदबाट राजीनामा दिएका छन्। उनले प्रस्तावलाई ‘फुटबलका लागि खराब सम्झौता’ भन्दै आलोचना गरेका छन्। फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोरले पनि योजनाका कारण संस्थाभित्र असन्तुष्टि बढेको स्वीकार गरेका छन्।

यसबीच आगामी मार्चमा मोरक्कोमा हुने फिफा कांग्रेसमा चौथो कार्यकालका लागि पुनः निर्वाचन लड्ने तयारीमा रहेका इन्फान्टिनोमाथि राजनीतिक दबाब थप बढेको छ। उनले अब सबै सदस्य राष्ट्रबीच सहमति र एकता कायम गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार