तराईको सुरक्षा कडा : एआइजीदेखि एसएसपीसम्म फिल्डमा परिचालन

3.2k Shares

काठमाडौँ । पछिल्ला केही दिनयता तराई/मधेशका जिल्लामा बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ।

गृह मन्त्रालयले सुरक्षा चुनौती बढ्न सक्ने आकलनपछि नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी), दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) र नौ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई विभिन्न जिल्लामा खटाएको हो।

परिचालन गरिएका एआइजीमध्ये हिमालय श्रेष्ठलाई सुनसरीसहित पूर्वी क्षेत्रमा, सिद्धिविक्रम शाहलाई बाँके, उमा चतुर्वेदीलाई कपिलवस्तु तथा ईश्वर कार्कीलाई पूर्वी तराईको सुरक्षा समन्वयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, सशस्त्र प्रहरी बलले पनि एआइजी गणेश ठाडामगरसहित दुई जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई मधेश प्रदेश तथा पूर्वी तराईका क्षेत्रमा खटाएको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उच्च प्रहरी अधिकारीलाई फिल्डमा पठाइएको हो।

उनीहरूले पूर्वी तराईका सीमावर्ती क्षेत्र, प्रमुख राजमार्ग, संवेदनशील स्थान तथा भीडभाड हुने क्षेत्रमा सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन, स्थानीय सुरक्षा निकायसँग समन्वय र आवश्यक निर्देशन कार्यान्वयनमा सहजीकरण गर्नेछन्।

यससँगै सुरक्षा निकायले भारतसँग जोडिएका सीमानाकामा चेकजाँच कडा बनाएको छ। सवारीसाधन, शंकास्पद व्यक्ति तथा गतिविधिमाथि विशेष निगरानी बढाइएको गृह मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार